arrow

मुलुक र कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्णबहादुर खड्का

संविधानको रक्षाका लागि समर्पित हुन आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
purna-bahadur-khadka-nc-10-07.jpg

ललितपुर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको र कांग्रेस पार्टीसमेत प्रतिकूल अवस्थामा रहेको बताएका छन्। 

नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले देश जोगाउन सङ्कल्पसहित अघि बढ्नुपर्नेमा जोड दिए । 

शान्ति, सुशासन कायमका लागि जेनजेड युवाले गरेको शान्तिपूर्ण आन्दोलन घुसपैठ हुँदा मुलुकले ठूलो विपत्ति सामना गर्नुपरेको खड्काको भनाइ छ । 

भदौ २४ गते देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि आक्रमण गरेर ध्वस्त बनाइएको भन्दै उनले जनतालाई अधिकार सम्पन्न बनाउन लागेका सन्तनेताको आश्रम खरानी बनाएर, देशको सिङ्गै राज्यप्रणालीमाथि आक्रमण गरेर प्रतिकूल अवस्थामा पुर्याइएको जिकिर गरे ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षण गरेको भन्दै प्रशंसा गरे । 

कार्यवाहक सभापति खड्काले एकताको भावबाट चालु केन्द्रीय समितिको बैठकबाट पार्टीको नियमित अधिवेशन, देशको निर्वाचन, भ्रातृ संस्थाका निर्वाचनलगायतलाई सम्बोधन गर्नेगरी बृहत् एकताका माध्यमबाट प्रतिकूलतालाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय एकता र संविधानको रक्षाका लागि मुलुकको सबै दल र पक्षहरूलाई एकताबद्ध गर्ने प्रस्ट मार्गदर्शनका साथ भरोसायोग्य कदम नेपाली कांग्रेसले चाल्ने विश्वास दिलाए ।

नेपाली जनता र राष्ट्रले कांग्रेससँग धेरै आशा, अपेक्षा र भरोसा गरेको भन्दै जनतामा रहेको सार्वभौमसत्ताको रक्षाका लागि एकताबद्ध भएर लाग्न सभापति देउवाले जिम्मेवारी प्रदान गरेको भन्दै कार्यवाहक सभापति खड्काले संयमता र धैर्यताका साथ सबैलाई मिलाएर विगतका कमजोरीलाई केलाएर समीक्षा गर्दै बृहत् एकताद्वारा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

प्रतिकूल अवस्थामा नेपाल तरुण दलको स्थापना दिवस मनाउँदै गरेको अवस्थामा धैर्य भएर एकताबद्ध हुँदै सङ्गठित भएर सुशासन र समृद्धिको अभियानमा लाग्न आग्रह गरे । साथै उनले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुनसमेत आग्रह गरे । 

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विसं २०१० साल कात्तिक १० गते गठन भएको तरुण दलले कांग्रेसको हितका साथै मुलुक र जनताको पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

तरुण दलले आफ्नो स्थापना दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ