कांग्रेस कमीकमजोरी स्वीकार गर्दै अघि बढ्नेछ: कावा सभापति खड्का [भिडियो]
मुलुकलाई सङ्कटबाट निकास दिनका लागि संयमित भएर अघि बढ्न पार्टीका युवाहरूलाई आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
1.2k
Shares
काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमीकमजोरीहरूलाई स्वीकार गर्दै अघि बढ्ने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले फेरि संविधानको रक्षाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।
कार्यवाहक सभापति खड्काले चालु केन्द्रीय समिति बैठकले संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नेपाली जनताको भरोसालाई कायम गर्ने गरी आवश्यक निर्णय लिने र मुलुकलाई समस्याबाट मुक्त गराउने दाबी गरे। उनले मुलुकलाई सङ्कटबाट निकास दिनका लागि संयमित भएर अघि बढ्न पार्टीका युवाहरूलाई आह्वानसमेत गरे।
कार्यवाहक सभापति खड्काले भने, "बृहत एकताबद्ध भएर फेरि नेपाली जनताले, नेपालको माटोले, नेपाल राष्ट्रले, विगतको इतिहासको कालखण्डजस्तै फेरि नेपाली कांग्रेसबाट अपेक्षा गरेको छ। आशा गरेको छ, भरोसा गरेको छ। हाम्रा विगतमा कमीकमजोरीहरू भए होलान्, ती कमीकमजोरीहरूलाई स्वीकार्छौं।"
उनले सभापति देउवाले आफूहरूलाई सामूहिक रूपमा एकताबद्ध भएर केन्द्रीय समितिले ऐतिहासिक निर्णय गर्न प्रेरित गरेको उल्लेख गरे। उनको भनाइ थियो, "नेपाली कांग्रेस संविधानको रक्षाका लागि, परिवर्तनको रक्षाका लागि सार्वभौमसत्ता नेपाली जनताको अधिकारको रक्षा गर्ने कुरालाई शीरमा राखेर हामी वृहत एकतासहित हामी अगाडि बढ्छौं।"
उनले केन्द्रीय समितिको निर्णयले नेपाली कांग्रेसमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने क्षमता, योग्यता, संयमता, धैर्यशीलता र सबैलाई सँगै लिएर जान सक्ने उद्धार भाव हिजोभन्दा जब्बरजस्त रूपमा देखिएको सन्देश दिने बताए।
कार्यवाहक सभापति खड्काले मुलुकलाई सङ्कटबाट मुक्त गराउन राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिका उल्लेखनीय रहेको समेत बताए।