arrow

नेपाल प्रहरी देउसी रे ! भैली रे ! 

logo
शिवप्रसाद पोखरेल,  
प्रकाशित २०८२ कार्तिक १० सोमबार
shiva-pokharel-82-7-10.jpg

हामी रातभर निदाउनका लागि प्रहरीको मात्र भरमा रहेछौँ भन्ने बल्ल थाहा पायौँ । उहाँहरू हुनुहुन्छ र आज पनि हामी उहाँहरूकै विश्वासमा राति निदाउन सक्छौँ । केही समस्या परेमा सम्झने स्थान भनेको प्रहरी कार्यालय मात्र हो भन्ने लागेको छ। 

गत भदौ २३ गते त्रासदीपूर्ण गोली नसकिएसम्म भुटुङटुङ हानेको भन्ने आरोप लागे पश्चात भोलिपल्ट २४ गते उहाँहरूले आफ्नो बर्दी, हतियार, सहकर्मी र कार्यालय आदिमा आक्रमण हुँदा पनि कुनै प्रतिक्रिया दिनु भएन भन्ने जनताको ठूलो गुनासो छ तर उहाँहरूले आदेशको पालना गर्ने बाहेक स्वविवेकले कुनै काम गर्नु हुँदैन भन्ने विश्वास छ । 

आन्दोलनका नाममा परिचालित संसारमा कुनै पनि युगमा जन्मन नमिल्ने भगवान् निदाएको समयमा झुक्किएर जन्मिएका अपराधीहरूले हाम्रो देवभूमिको छातीमा परेड खेलेर खुशी मनाएको पनि डेढ महिना भन्दा बढी भयो । 

भदौ २४ गते परिचालित अपराधीहरू आज पनि बुलेट बाइकमा हिँडिरहेका छन् । तिनै अपराधीहरू आन्दोलन सकिएको छैन भन्दैछन्। अब देशको कुन भाग जलाउन बाँकी छ अपराधीहरू ? 

व्यवस्थापिका, कार्यापालिका, न्यायपालिका के चाहिँ बाँकी छ हाम्रो देशमा ? यस्तो जघन्य अपराध गर्नेहरूको देश पनि हाम्रा देश नेपाल नै हो ? नेपाल नै तिमीहरूको देश भए यस्तो अपराध गर्दा तिम्रा बाबु, आमा, आफन्तहरू कुन कुनामा बसेर पिच्च थुक्दै फोहर फाल्दै थिए ? 

भदौ २४ गते हाम्रो देवभूमिमा अपराधी कुलङ्गारहरूको सहयोगमा एक होनहार देशको अवसान भएको र मानिस जस्तै आकार भएका क्षणमा रमाउने क्षणमा बेखुस हुने, बौलाहा, क्षणमा रिसाउने र अपराध गर्न अग्रसर हुने हिंस्रकहरू, भगवानको इच्छा विपरीत मानिसको रूपमा जन्म लिएका अपराधारीको जत्था बस्ने देशको रूपमा विश्वसामु परिचय गराउन सफल भयौ । 

पुर्खाले हामीलाई इमान्दार परिश्रमी अनि साहसी जनता बस्ने देशको रूपमा दिलाएको परिचय आज हिंस्रक जत्था र मानव हुनका लागि कयौँ शताब्दी कुर्नु पर्ने देशको रूपमा परिवर्तन गराइदिए । 

विगत केही दशकदेखि हाम्रो देवभूमिमा राजनीतिको नाममा शासन गर्ने शासकहरूले कहिले रातेको नाममा अनि कहिले कालेको नाममा त कहिले राते कालेको नाममा लोभी पापीहरूले देशमाथि अस्वभाविक कुकार्य गरेर देश उठ्नै नसक्ने र सुध्रनै नमिल्ने गरी बिगार्ने काममात्र गरेका थिए । 

गत भदौ २४ गते एक दिनको हिंस्रक क्रियाकलापले देशमा राजनीति गर्नेहरूबाट भएको कुकार्य केही क्षणका लागि रोक्ने प्रयास भएको बारेमा इतिहासमा लेखिनु नै पर्छ । राजनीति गर्नेबाट भएको कुकार्य क्षणिक रूपमा रोकेर पुग्दैन, अब नयाँ सोच विचार भएका, विगतमा शासन गर्ने भन्दा तुलनात्मक रूपमा थोरै लोभी पापीहरूले देशको बागडोर सम्हालेर देशलाई गति दिनु पर्दछ। तर त्यो सम्भव नै देखिँदैन ।  

देशमा आज विश्वास गर्ने संस्था देखिएन तर जनतालाई अप्ठेरो पर्दा पहिलो पटक सम्झने संस्था भनेको नेपाल प्रहरी नै रहेछ र उहाँहरूको आत्मबल बढाएर विगतको तुलनामा जनतासँग मित्रवत् सम्बन्ध बढाउनका लागि आवश्यक पहल गरी जनतासँग सुमधुर सम्बन्ध बढाउने वातावरण बन्दै जाओस् ।

नेपाल प्रहरी देउसी रे ! भैली रे !  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ