ध्वस्त भएको हायात रिजेन्सी एक वर्षभित्र पुनः सञ्चालनमा आउने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
879
Shares
काठमाडौं। पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी काठमाडौं) ले जेन-जी आन्दोलनका क्रममा होटलमा व्यापक क्षति पुगेपछि पुनर्निर्माणपछि करिब एक वर्षमा सञ्चालनमा आउने जनाएको छ।
होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्य लगायतका संरचनामा ठूलो क्षति पुगेको उल्लेख छ। सोही कारण होटल हाल पूर्ण रूपमा बन्द रहेको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, "हाल क्षतिको पूर्ण मूल्यांकन भइरहेको छ। मूल्यांकनपछि होटलको स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं।" होटलले पुनर्निर्माण र स्तरोन्नतिको सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्तीमा एक वर्ष लाग्ने जनाएको छ।
हायातले आन्दोलनका क्रममा होटलमा भएको क्षतिप्रति प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ र सहयोग प्रदान गर्ने आश्वासन दिएकोमा आभार पनि व्यक्त गरेको छ।
होटलले पुनर्निर्माणपछि आफ्नो सञ्चालनले नेपालको पर्यटन क्षेत्रको प्रतिष्ठा अझै उच्च बनाउने दृढ संकल्प व्यक्त गरेको छ। साथै, यसले सरकारी राजस्वमा योगदान पुर्याउँदै देशको आर्थिक विकासमा थप योगदान गर्ने उद्देश्य राखेको छ।