निर्वाचनलाई 'राष्ट्रिय अनुष्ठान' का रूपमा ग्रहण गर्न प्रधानमन्त्री कार्कीको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
1k
Shares
काठमाडौँ प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न सबै पक्षलाई आह्वान गरेकी छन्।
सूर्यको आराधना गरिने महान् पर्व छठको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको बताएकी छन्।
सन्देशमा भनिएको छ, "आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।" प्रधानमन्त्रीले सबै पक्षलाई परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला आएकोमा जोड दिएकी छन्।
"सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन," सन्देशमा उल्लेख छ, "आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो।"
प्रधानमन्त्री कार्कीले छठसहित हाम्रा चाडपर्वहरू सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक भएको उल्लेख गर्दै अहिलेको अवस्थामा सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको बताएकी छन्। उनले सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने छठ पर्वले नेपालीको सांस्कृतिक र सामाजिक रूपमा समेत तराई–पहाड जोड्ने सेतु बनिरहेको बताएकी छन्।