नवनियुक्त दुई मन्त्रीले शीतलनिवासमा लिए शपथ [भिडियो]
शपथ लिने मन्त्रीहरूमा डा. सुधा गौतम र बब्लु गुप्ता
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
1.1k
Shares
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नवनियुक्त दुई मन्त्रीले आइतबार शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
शपथ लिने मन्त्रीहरूमा डा. सुधा गौतम र बब्लु गुप्ता रहेका छन्। राष्ट्रपति पौडेलसमक्ष शपथ लिएपछि डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान मन्त्रिपरिषद् विस्तारका लागि चार जना मन्त्रीको नाम सिफारिस गरेकी थिइन्। तर विवादका कारण दुई जनाको मात्रै शपथ भएको हो। शपथ रोकिएका अन्य दुई सिफारिस गरिएका मन्त्रीहरूमा गणपतिलाल श्रेष्ठ (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण) र खगेन्द्र सुनार (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) रहेका छन्।
यसअघि प्रधानमन्त्री कार्कीले सात जना मन्त्री नियुक्त गरिसकेकी थिइन्। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्री लगायत उच्चपदस्थ व्यक्तित्वहरूको सहभागिता रहेको थियो।