पहिलो त्रैमासिकमा आयात र निर्यात दुवैमा वृद्धि, व्यापार घाटा १३ प्रतिशतले बढ्यो
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
988
Shares
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमासिक (साउनदेखि असोज) मा नेपालको आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यो अवधिमा कुल वैदेशिक व्यापार बढे पनि मुलुकको व्यापार घाटा झन्डै १३ प्रतिशतले बढेको छ।
चालु आवको पहिलो त्रैमासमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो आवको सोही अवधिको (३ खर्ब ९० अर्ब) तुलनामा १९.७९ प्रतिशतले बढेको हो। आयात बढेसँगै निर्याततर्फ पनि उत्साहजनक वृद्धि देखिएको छ। विभागका अनुसार, यो अवधिमा निर्यात ८९.६४ प्रतिशतले बढेर ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।
पहिलो त्रैमासिकमा नेपालले कुल ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ को वैदेशिक व्यापार गरेको छ। यद्यपि, समीक्षा अवधिमा मुलुकको व्यापार घाटा ३ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिको (३ खर्ब ५२ अर्ब) तुलनामा झन्डै १३ प्रतिशतले बढेको हो।
चालु आवको समीक्षा अवधिमा आयाततर्फ नेपालले पेट्रोलियम पदार्थको आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ भने निर्याततर्फ ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ।