अलैँची निर्यात ३३ प्रतिशतले बढ्यो, चिया ४० प्रतिशतले घट्यो
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
940
Shares
भद्रपुर (झापा)। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (तीन महिना) मा अलैँची निर्यातमा उल्लेख्य वृद्धि भएको छ। यस अवधिमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको कार्यालयले जनाएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले दिएको जानकारी अनुसार, चालु आवको पहिलो त्रैमासिकमा १ हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको छ, जसको मूल्य १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबर छ। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा भने १ अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो।
अलैँची निर्यात बढे पनि प्रमुख निर्यात वस्तुमध्येको चियाको निर्यात भने यो अवधिमा ४०.९० प्रतिशतले घटेको छ। चालु आवको तीन महिनामा १ अर्ब १ करोड २१ लाख ८६ हजार रुपैयाँ मूल्यबराबरको मात्र चिया निर्यात भएको छ। गत आवको सोही अवधिमा १ अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार, यो त्रैमासिकमा निर्यात हुने मुख्य वस्तुहरूमध्ये मुसुरो दालको निर्यात ४८१ प्रतिशत ले, भेनियर सिट १२६ प्रतिशत ले, छुर्पी ६१.८० प्रतिशत ले र प्लाइउड १०० प्रतिशत ले बढेको छ।
यसको विपरीत, अदुवा निर्यात ३२.३० प्रतिशत ले र अम्रिसो निर्यात २४ प्रतिशत ले कमी आएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मेची भन्सारबाट कुल ४ अर्ब ८० करोड ३९ लाख २४ हजार रुपैयाँ को मालवस्तु निर्यात भएको छ।