मध्यान्तरपछिको आठ मिनेट नसम्हालिँदा नेपाल इरानसँग पराजित
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
1.2k
Shares
काठमाडौँ । भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले खराव शुरूआत गरेको छ । नेपाल पहिलो खेलमा इरानसँग पराजित भएको छ।
भारतको सिलोङस्थित जवहारलाल नेहरु रङ्गशालामा भएको खेलमा नेपाल ३-० ले पराजित भयो । मध्यान्तरपछिको ८ मिनेट सम्हालिन नसक्दा नेपाल पराजित भयो ।
मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपालले मध्यान्तरपछि आठ मिनेटको अन्तरमा तीन गोल खायो । नेपालले ४९, ५२ र ५७ औँ मिनेटमा गोल खाएको थियो ।
सावित्रा भण्डारीको नेतृत्वमा रहेको नेपाल, इरानलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको भए पनि इरानलाई रोक्न सकेन ।
पहिलो खेलमा घरेलु टोली भारतलाई २–० ले हराएको इरानले दुवै खेल जितेसँगै उपाधि जितेको छ ।
पछिल्लो पटक नेपाल र इरानको भेट सन् २०१९ मा भारतको कालिङ्गा रङ्गशालामा भएको हिरो महिला कप फुटबल प्रतियोगितामा भएको थियो, जहाँ नेपाल विजयी भएको थियो।
हाल फिफा वरीयतामा इरान ७०औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा रहेको छ।
अब नेपालले भारतसँग प्रतियोगिताको अन्तिम खेल खेल्नेछ । जित्ने टिमले सान्वना हासिल गर्नेछ ।
नेपाली टोलीमा कप्तान भण्डारीसहित अनिता बस्नेत, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, उषा नाथ, र गोलकिपरहरू अञ्जना राना मगर तथा एन्जिला तुम्बापो सुब्बा लगायतका खेलाडीहरू रहेका छन् ।