नेपालीले स्थापना गरेको एआई कम्पनी 'फ्युजमेसिन्स'को स्टक कारोबार शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
1.2k
Shares
तस्बिर फाइल
काठमाडौँ। नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने कम्पनी फ्युजमेसिन्सले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक कम्पनीबाट स्टक कारोबार सुरु गरेको छ।
बौद्धिक कृत्रिमता (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी काम गर्ने उक्त कम्पनीले दुई वर्षअगाडि गरेको ‘मर्जर’ पश्चात् बिहीबारदेखि 'फ्युज' नामबाट धितोपत्र कारोबार गर्न सफल भएको हो। कम्पनीका संस्थापक डा. मास्केले यो उपलब्धिले आगामी दिनमा अझै व्यापक बन्न प्रेरित गर्ने बताएका छन्।
नास्डाकमा सूचीकृत भएर कारोबार गर्न पाउनु कम्पनीका लागि महत्त्वपूर्ण उपलब्धि भएको डा. मास्केले बताए। हाल कम्पनीमा तीन सय पचास कर्मचारी कार्यरत छन्, जसमध्ये दुई सय साठी जना नेपालमा कार्यरत छन्।
नास्डाकले विज्ञप्ति प्रकाशित गर्दै सिएसएलएम एक्विजेसन कम्पनी र फ्युजमेसिन्स इन्क बीच साझेदारीसम्बन्धी प्रक्रिया पूरा भएको र बिहीबारदेखि नास्डाक पुँजीबजारमा कारोबार हुने उल्लेख गरेको थियो। योसँगै नेपालीले स्थापना गरेको कम्पनीले विश्वबजारमा प्रवेश पाएको छ भने लगानीकर्ताका लागि अवसरसमेत सृजना गरेको छ।
मर्जरपश्चात् कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा डा. समीर मास्के र प्रमुख वित्त अधिकृतमा क्रिष्टिन च्याम्बर्स रहेका छन्।