काठमाडौँ । भारतको हैदरावादबाट बेंगलुरु गइरहेको एउटा बसमा भयानक आगलागी हुँदा कम्तीमा १० जना यात्रुको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार यो दुर्घटना आन्ध्र प्रदेशको कुर्नूल जिल्लास्थित चिन्ना टेकुरु गाउँ नजिकै शुक्रबार भएको हो। आगलागीमा परी केही यात्रु घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ।
दुर्घटनाको समयमा बसमा लगभग ४२ यात्रु सवार थिए। दुर्घटनापछि बस पूर्ण रूपमा जलेर नष्ट भएको थियो। कुर्नूल रेन्जका डीआईजी कोया प्रवीणले दुर्घटनामा दुई बालबालिका र दुई चालकसहित लगभग १९ यात्रु बाँच्न सफल भएको पीटीआईलाई बताए। बाँचेका अधिकांश यात्रुहरू २५ देखि ३५ वर्ष उमेर समूहका छन्।
बीबीसी तेलुगुको प्रारम्भिक रिपोर्ट अनुसार, बस सुरुमा मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि मोटरसाइकल बसको मुनि गएर तेलको ट्याङ्कीमा ठोक्किएपछि आगो लागेको थियो। यद्यपि, प्रहरीका अनुसार सर्ट सर्किटका कारण बसको ढोका जाम भएको थियो र केही मिनेटमै गाडी पूर्ण रूपमा आगोमा जलेको थियो। स्थानीय प्रशासनले भने अहिलेसम्म आधिकारिक रूपमा कारण पुष्टि गरेको छैन।
आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू ले ट्विटरमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारहरूप्रति समवेदना प्रकट गरेका छन्। उनले सरकारले घाइते र प्रभावित परिवारहरूलाई सबै सम्भव सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।