arrow

काँकरभिट्टा नाका: आयात १३.३१ प्रतिशतले बढ्यो, निर्यात २१ प्रतिशतभन्दा बढीले घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
mechi bhansar office.jpg

भद्रपुर (झापा)। चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा पूर्वीनाका काँकरभिट्टाबाट रु १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन्। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले दिएको जानकारीअनुसार यो आयात गत आव २०८१/०८२ को सोही अवधिको रु १० अर्ब ८४ करोड तीन लाखको तुलनामा १३.३१ प्रतिशत अर्थात् रु १ अर्ब ४४ करोड २७ लाखले बढेको हो।

यद्यपि, चालू आवको पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात भने उल्लेख्य मात्रामा घटेको छ। उक्त अवधिमा रु ४ अर्ब ८० करोड ३९ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ। गत आवको सोही अवधिमा रु ६ अर्ब ८ करोड ६९ लाखको वस्तु तथा सामान निर्यात भएकोमा यस वर्ष निर्यात २१.०८ प्रतिशतले घटेको कार्यालयले जनाएको छ।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन र तयारी कपडालगायत रहेका छन्।

आयात बढे पनि निर्यात घटेको अवस्थामा पनि चालू आव २०८२/८३ को पहिलो त्रैमासिकमा आयात–निर्यातबाट रु ४ अर्ब १५ करोड २० लाख ८ हजार राजस्व सङ्कलन भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १५.६९ प्रतिशत (रु ५६ करोड २९ लाख ९७ हजार) ले बढी हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ