काठमाडौँ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँको टोखा नगरपालिका–५, बसुन्धरामा रहेको तक्षक फार्मेसीबाट मापदण्ड विपरीत बिक्री वितरणका लागि राखिएका ठूलो सङ्ख्यामा औषधिहरू बरामद गरेको छ।
फार्मेसीले चिकित्सकको अनुमतिले मात्र बिक्री गर्नुपर्ने औषधिहरू मापदण्ड विपरीत बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले दिएको जानकारी अनुसार, फार्मेसीबाट स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद गरिएको छ।
उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम समेतले सञ्चालन गरेको पाइएको छ। प्रहरीले औषधि व्यवस्था विभागसँग समन्वय गर्दा ती औषधिहरू मापदण्ड विपरीत बिक्री गरिएको पाइएको जनाएको छ।