हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजनाको प्रक्रिया शुरु, ७२ अर्बको लागत अनुमान
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
1.1k
Shares
काठमाडौँ । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन को काम अगाडि बढाएको हो। यो आयोजना रुरु जलविद्युत् परियोजनाले हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा निर्माण गर्नेछ।
विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार ईआईए गर्नुपर्ने प्रावधान रहेकाले सोहीअनुरूप मन्त्रालयले अध्ययन गरिरहेको छ। आयोजना निर्माणका लागि कूल ४७.१३ हेक्टर जमिन आवश्यक पर्नेछ।
नदी प्रवाहमा आधारित यो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो र बाह्रैमासे हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले यसलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ११८.७० घनमिटर प्रति सेकेण्ड रहेको छ। आयोजनामा ५४५ मिटर र ५४२ मिटर लामो दुईवटा डाइभर्सन सुरुङ निर्माण हुनेछन्, जसको व्यास ९.५ मिटर रहनेछ।
आयोजनाबाट सुक्खायाममा ६०९.८९ गिगावाट घण्टा र वर्षा याममा १,१८४.८३ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ। उत्पादित बिजुली २० किलोमिटर लामो डबल सर्किट ४०० केभी क्षमताको प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ।
आयोजनाको कुल लागत रु ७२ अर्ब ९० करोड ८० लाख बराबर रहने अनुमान गरिएको छ। निर्माण चरणमा औसत १,८०५ जना र सञ्चालन चरणमा ११५ जनाले रोजगारी प्राप्त गर्नेछन्। यद्यपि, आयोजना निर्माण हुँदा ५६ घरधुरी प्रभावित हुने तथा १८८ वटा रुख कटान गर्नुपर्नेछ।