जेन-जी आन्दोलनमा लुटिएको पेस्तोल र नगदसहित एक युवक ललितपुरबाट पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
1.2k
Shares
काठमाडौँ। जेन–जी आन्दोलनका क्रममा लुटिएको एक थान पेस्तोल र ठूलो मात्राको नगदसहित एक युवक ललितपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ, साकेला गाउँपालिका–१ घर भई ललितपुर–२३, धापाखेल बस्ने २३ वर्षीय शिवकुमार विक छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीका अनुसार, विकलाई बिहीबार बिहान (राति) पेस्तोल र नगदसहित पक्राउ गरिएको हो। उनको साथबाट एक थान चाइनिज पेस्तोल र राष्ट्रिय वाणिज्य बैंकको टाँचा लगाएको चार लाख ७८ हजार रुपैयाँ बरामद भएको छ।
एसएसपी बोगटीले भने, “उनी सामान्य परिवारका मानिस हुन्। जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते बैंकबाट रकम लुटपाट हुँदा उनले लुटेको र कुनै प्रहरी युनिटबाट पेस्तोल लुटेको पाइएको छ।”
पक्राउ परेका विकलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर अनुसन्धान थालिएको छ। यद्यपि, कहाँको बैंक शाखा र कुन प्रहरी युनिटबाट लुटिएको हो भन्नेबारे स्पष्ट भइनसकेको बोगटीले बताए।