तराई–मधेसमा आज 'भैयादुज' पर्व, दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
903
Shares
महोत्तरी। महोत्तरीसहित तराई–मधेशका अधिकांश क्षेत्रमा आज (बुधबार) ‘भैयादुज’ पर्व मनाइँदैछ। यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्तो मान्दै यो चाड मनाउने मैथिल परम्परा छ। सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि तिथि वृद्धिका कारण छ दिनको भएकोले गत शनिबार सुरु भएको दीपावली आज ‘भैयादुज’ मनाएर सकिँदैछ।
मिथिलामा भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई सामान्यतया आफ्नै घरमा आउन निम्ता गर्छन्। निम्ता मान्न जाने दाजुभाइले नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने चलन छ।
दिदीबहिनीले घरमा पिठार (अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइलाई बसाउँछन्। टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धोएपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी सप्तरङ्गी टीका लगाइदिने गरिन्छ।
मिथिला लोकपरम्पराका जानकार संस्कृतिविद् ध्रुव रायका अनुसार, यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तु एउटै पाइन्छ। अघि सत्ययुगमा राजा वलिका बहिनीहरू गङ्गा र यमुनाले देवतासँगको युद्धअघि दाजुको सौर्यवृद्धि, युद्धमा विजय, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार रहँदै आएको छ।
मैथिल परम्परामा दिदीबहिनीले दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने भावले सुकेको केराउका दाना ‘बजरी’ खुवाउने गर्छन्। बजरी खुवाउँदा ‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ अर्थात् ‘बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु’ भन्ने भनाइका साथ दाजुभाइलाई माला, फूल, चन्दन लगाई बजरी खुवाइन्छ।
यो विधि सकिएपछि दाजुभाइले आफ्नो गच्छेअनुसार दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा उपहार र कोसेली दिन्छन्। त्यसपछि दिदीबहिनीले दाजुभाइलाई मिष्टान्न भोजन गराएर पर्व सम्पन्न गर्छन्।