प्रधानमन्त्री कार्कीलाई कलाकारहरूको एक स्वर : “कुसूचना र प्रोपोगान्डाबाट नडराई देश बचाउने अभियानमा अघि बढ्नुस्”
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
836
Shares
काठमाडौँ। मुलुकमा दुष्प्रचार र प्रोपोगान्डा तीव्र भइरहेका बेला देशका प्रतिष्ठित कलाकारहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई नडराई आफ्नो सङ्कल्पअनुसार अघि बढ्न सुझाव दिएका छन्।
बुधवार साँझ बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेका समकालीन नेपाली सिनेमाका चर्चित ९ जना कलाकारहरूले भ्रष्टाचारविरुद्धको कारबाहीलाई अझ सशक्त बनाउँदै आगामी निर्वाचनलाई “अर्जुन दृष्टि” बनाएर अघि बढ्न आग्रह गरेका हुन्।
कलाकारहरूले भेटमा स्पष्ट रूपमा भने, “हामी सरकारसँग केही माग्न आएका होइनौँ। यो देश रहेर मात्रै माग्ने कुरा सम्भव हुन्छ। पहिला देश बचोस्, देश बस्न लायक बनोस् । त्यसका लागि सरकारले दह्रो खुट्टा टेकेर अघि बढोस्, हामी साथमा छौँ।”
कलाकारहरूले प्रधानमन्त्री कार्कीको निष्कलङ्क छवि, पहिलो महिला प्रधानन्यायाधीशका रूपमा बनाएको इतिहास र अहिलेको कठिन अवस्थामा जिम्मेवारी लिएको साहसिक कदमप्रति कृतज्ञता पनि व्यक्त गरे।
अभिनेत्री ऋचा शर्माले भनिन्, “अब के पो हुन्छ भनेर डराइरहेको बेला सम्हाल्न आमा आउनुभएको छ। हामीलाई ढुक्क लागेको छ। प्रधानमन्त्री कार्कीको सरलता, स्पष्टता र दृढताले मुलुक ठिक दिशामा अघि बढ्ने विश्वास दिलाएको छ।”
कलाकारहरूले सामाजिक सञ्जालमा फैलिरहेका कुसूचना र नियोजित प्रोपोगान्डाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई सचेत रहन र आफ्ना कामकारबाहीको विवरण नियमित रूपमा सार्वजनिक गर्न पनि सुझाए।
अभिनेता विपिन कार्कीले भने, “गृहमन्त्री ओमप्रकाश अर्यालका अभिव्यक्तिहरूले सरकार डराएको छैन भन्ने अनुभूति गराएका छन्। हामीलाई थप भरोसा जागेको छ कि सरकार अब दृढ रूपमा अघि बढ्छ।”
अभिनेता निश्चल बस्नेतले जोड दिँदै भने, “सरकारले नबोलेको कारण खराब तत्त्वहरू सामाजिक सञ्जालमा हाबी भएका छन्। तर यदि सरकार सत्य धरातलमा छ भने डराउनुपर्ने कुनै कारण छैन। हामी जनताको साथमा सरकारसँग छौँ।”
सङ्गीतकार कालीप्रसाद बाँस्कोटाले भने, “समाज भड्काउन सजिलो हुन्छ, सम्हाल्न गाह्रो। अहिले भड्काउनेहरू बढी देखिएका छन्, त्यसैले सम्हाल्नेहरू सचेत रहनुपर्छ।”
कलाकारहरूले देशमा अस्थिरताको लाभ उठाउने समूहहरूको नियोजित अभियानलाई निस्तेज पार्न जेन्जी युवा र परिवर्तन पक्षधर सबैलाई एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए।
अभिनेता विजय बरालले भने, “हामी सबै परिवर्तनका पक्षमा रहेका जनता एकातिर छौँ, तर जनताबाट तिरस्कृत एउटा सानो शक्ति अर्कोतिर छ। त्यसले देशलाई पेल्ने प्रयास गर्दै छ — यो सबैले बुझ्नुपर्ने बेला आएको छ।”
भेटघाटको अन्त्यमा प्रधानमन्त्री कार्कीले कलाकारहरूलाई धन्यवाद दिँदै भनिन् , “साथ सहयोग सबैको चाहिन्छ। समाजमा तपाईँहरूको ठूलो प्रभाव छ। दुष्प्रचार चिर्नका लागि तपाईँहरूले पनि भूमिका खेलिदिनुहोस्। असल नियतले काम गर्दा कसैले गाली गरे पनि हामी डराउँदैनौँ। हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौँ।”
भेटमा उपस्थित कलाकारहरूमा विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्य देव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा, कर्मालगायत थिए। भेटघाटको संयोजन पुकार बमले गरेका थिए।