पहिलो त्रैमासमा १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति
दुई सय ४१ मेगावाट क्षमता थपियो
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
974
Shares
काठमाडौँ। विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाहरूको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ।
विभागले उपलब्ध गराएको विवरणअनुसार, हालसम्म कूल दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरिसकिएको छ, जसको कूल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको छ।
चालु आवको असोज मसान्तसम्ममा विभागले लापा खोला (४.७२ मे.वा.), लोअर बरुण (१३२ मे.वा.), म्याग्दी खोला बी (१२.५० मे.वा.), तल्लो लिखु क्यासकेड (६ मे.वा.), माथिल्लो मेलम्ची (४.९५ मे.वा.), सुपर सभा खोला (९.५५ मे.वा.), लोअर मेलम्ची खोला (४.९६ मे.वा.), अप्पर सेती एक (१३ मे.वा.), होङ्गु खोला (२८.९० मे.वा.) र इन्दुवा खोला (२४.९२ मे.वा.) लाई निर्माण अनुमतिपत्र प्रदान गरेको हो।
यसैगरी, विभागले हालसम्म कूल एक सय ८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ भने ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्। ती आयोजनाहरूको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ। सौर्य परियोजनातर्फ १२ आयोजनाले निर्माण अनुमतिपत्र लिएका छन्, जसको क्षमता ८४ मेगावाट छ।
विभागका अनुसार, निर्माण अनुमतिपत्र लिएर काम अगाडि नबढाएका १५ जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गरिएको छ। साथै, निर्माण अनुमतिपत्रका लागि आवेदन दिएर आवश्यक प्रक्रिया पूरा नगरेका ११ आयोजनाको आवेदन र एक सय १८ वटा आयोजनाको सर्वेक्षण अनुमतिपत्र खारेज गरिएको छ।