‘शोले’का चर्चित जेलर अभिनेता असरानीको निधन, अन्तिम इच्छाअनुसार शान्तिनगर घाटमा गोप्य अन्त्येष्टि
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
1k
Shares
काठमाडौँ। ब्लकबस्टर फिल्म 'शोले' मा ब्रिटिश युगको जेलरको भूमिका निर्वाह गरेका लोकप्रिय अभिनेता गोवर्धन असरानीको सोमबार दिउँसो १ बजे निधन भयो। उनी ८४ वर्षका थिए। चार दिनअघि फोक्सोमा तरल पदार्थ जमेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनका प्रबन्धक बाबुभाई थिबाले उनको मृत्युको खबर पुष्टि गरेका छन्।
प्रबन्धक बाबुभाई थिबाका अनुसार, मृत्यु हुनुअघि असरानीले आफ्नी श्रीमतीलाई आफ्नो निधनको खबर गोप्य राख्न आग्रह गरेका थिए। कुनै पनि हल्ला नहोस् भन्ने चाहना राख्दै उनले अन्त्येष्टि पछि मात्र सबैलाई जानकारी दिन अनुरोध गरेका थिए। सोहीअनुसार उनको मृत्युपछि तुरुन्तै सान्ताक्रुजको शान्तिनगर श्मशानघाटमा उनको अन्तिम संस्कार गरियो, जसमा परिवारका १५-२० सदस्यहरू मात्र उपस्थित थिए।
असरानीले आफ्नो अभिनय करियरमा करिब ३५० चलचित्रहरू मा काम गरेका छन्, जसमा 'शोले', 'अभिमान', 'चुपके चुपके', 'छोटी सी बात', र 'भूल भुलैया' जस्ता हिट फिल्महरू समावेश छन्। विशेष गरी 'शोले' फिल्ममा उनको संवाद, "हम अंग्रेज के जमीन के जेलर हैं," निकै लोकप्रिय भएको थियो।
अभिनेताले आफ्नी श्रीमती मन्जु बंसलसँग 'आज की ताजा खबर' र 'नमक हराम' फिल्महरूको छायांकनको क्रममा प्रेम सम्बन्ध गाँसेका थिए।
असरानीले आफ्नो मृत्यु हुनुभन्दा ठीक अघि दिएको अन्तर्वार्तामा 'शोले' मा जेलरको भूमिकाबारे बताएका थिए। उनले निर्देशक रमेश सिप्पी, सलीम र जावेदले उनलाई चरित्रबारे बुझाउँदै त्यो पात्र मूर्ख भए पनि 'संसारको सबैभन्दा चलाख मान्छे' जस्तो देखिनुपर्ने बताएको स्मरण गरेका थिए। उनले हिटलरको मनोवृत्ति अध्ययन गरी पात्रमा सोही शैली प्रस्तुत गरेको बताएका थिए।
शोलेका निर्देशक रमेश सिप्पीले असरानीको निधनमा दुःख व्यक्त गर्दै भने, "उहाँ एकदमै मीठो मान्छे हुनुहुन्थ्यो... उहाँले भूमिकालाई यति धेरै अँगाल्नुभयो, मानौं उहाँ आफैं पात्र हुनुहुन्छ।"
जनवरी १, १९४१ मा जयपुरमा जन्मेका असरानीले सन् १९६४ मा पुणेको फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युटमा भर्ना भई अभिनय सिकेका थिए। १९६७ मा 'हरे काँच की चुडियाँ' बाट फिल्मी यात्रा सुरु गरेका उनलाई १९६९ को फिल्म 'सत्यकाम' ले व्यावसायिक सफलता दिलाएको थियो।