काठमाडौँ। भारतको राजधानी नयाँदिल्ली सोमबार बिहानदेखि बाक्लो र विषाक्त धुवाँको चपेटामा परेको छ। सरकारी तथ्याङ्क अनुसार यहाँको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सिफारिस गरेको दैनिक अधिकतम सीमाभन्दा १६ गुणा बढी पुगेको छ।
करिब तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको दिल्ली र यसको महानगरीय क्षेत्र हरेक वर्षजस्तै यस पटक पनि विश्वका सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक बनेको छ, जहाँ जाडो मौसम सुरु हुनासाथ आकाश बाक्लो धुवाँले ढाकिने गर्छ। चिसो हावाले प्रदूषक तत्वहरूलाई जमिनको नजिकै समात्ने भएकाले बाली जलाउने, कारखानाबाट निस्कने धुवाँ र सवारी साधनका उत्सर्जन मिसिएर घातक धुवाँको तह तयार भएको बताइन्छ। यसमा यस वर्षको दीपावली पर्वका अवसरमा भएको आतशबाजीले थप प्रदूषण वृद्धि गरेको जनाइएको छ, यद्यपि सर्वोच्च अदालतले कम प्रदूषण गर्ने 'हरित पटाका' मात्र प्रयोग गर्न अनुमति दिएको थियो।
वायु प्रदूषण मापन संस्था आइक्युएयरका अनुसार सोमबार बिहान दिल्लीका केही भागमा क्यान्सर पैदा गर्ने सूक्ष्म कण र मानव रगत प्रवाहसम्म प्रवेश गर्न सक्ने पी.एम. २.५ स्तर २४८ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो। भारतको वायु गुणस्तर व्यवस्थापन आयोगले आगामी दिनहरूमा हावाको गुणस्तर अझ बिग्रने चेतावनी दिँदै डिजेल जेनेरेटरको प्रयोग घटाउन र निरन्तर बिजुली आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ। साथै, प्रदूषण नियन्त्रणका लागि विभिन्न आपत्कालीन उपायहरू कार्यान्वयनमा ल्याइएको छ।
यसैबीच दिल्ली सरकारले यस महिनाभित्रै पहिलो पटक विमानमार्फत ‘क्लाउड सिडिङ’ (कृत्रिम वर्षा) परीक्षण गर्ने तयारी गरेको छ, जसले हावामा रहेका प्रदूषक कणहरूलाई सफा गर्ने अपेक्षा गरिएको छ। वातावरणमन्त्री मञ्जिन्दर सिंह सिरसाले क्लाउड सिडिङका लागि आवश्यक सबै तयारी पूरा भइसकेको र यसै महिनाभित्र प्रयोग सुरु हुने जानकारी दिए। स्वास्थ्य विशेषज्ञहरूले वायु प्रदूषण दिल्लीका बासिन्दाहरूका लागि दीर्घकालीन स्वास्थ्य जोखिम बन्दै गएको चेतावनी दिएका छन् भने युनिसेफले समेत प्रदूषित हावाले बालबालिकालाई तीव्र श्वासप्रश्वास सङ्क्रमणको उच्च जोखिममा पारिरहेको बताएको छ।