पूर्व ऊर्जामन्त्री खड्काले घरमै गरे पत्रकार सम्मेलन, गृहमन्त्रीको भनाइ बन्यो मजाक
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
3.8k
Shares
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले गैरजिम्मेवारपूर्ण जानकारी दिएर मजाकका पात्र बनेका छन् । पूर्व ऊर्जामन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्का विदेश भागेको भनेर दिएको जानकारी यतिबेला मजाक बनेको हो ।
गृहमन्त्री अर्यालले आफूमाथि छानबिन हुने देखेरै विदेश भागेको भनेर दिएको जानकारीको खण्डन गर्दै खड्काले घरमै सञ्चारकर्मीहरु बोलाएर आफूले के गल्तीको छ र विदेश भाग्ने ? भनी प्रश्न गरेका छन् ।
गृहमन्त्री अर्यालका बारेमा उनले भने, ‘उहाँ कानूनको विद्यार्थी भन्या सुन्या छु । कानूनको विषय राम्रो जान्नुहुन्छ । तर म के कारणले भाग्नुपर्छ ?’
उनले भदौ २३ गतेको जेन–जी आन्दोलनको बारेमा आफू पदमा हुँदा खेलेको भूमिका, अर्को दिन आफ्नो घर जलाइएको र त्यतिबेला डलर भेटियो भनेर गरिएका सबै प्रचारको उनले जवाफ दिएका छन् ।
उनले आफूमात्र नभई कांग्रेसका कोही पनि नभाग्ने दाबी गरे । उनले भने, ‘आन्दोलनका विषयमा तत्कालीन सरकारले निर्णय नै गरेको छ । किन भाग्नु पर्यो । राजनीतिमा फूलैफूल हुन्छ भनेर गरेको हैन । काँडा हुन पनि हुन सक्छ भनेर काम गरेको हो । राज्यले हेर्ने कानूनी दृष्टिकोण समान हुनुपर्छ ।’
उनले जेन–जी आन्दोलन, त्यसपछि भएका तोडफोड र आगजनीका विषयमा छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘कसैका व्यक्तिगत रिसईबी र पदीय हिसाबले कुनै काम भएका रहेछन् भने छानबिन होला ।’
पूर्वमन्त्री खड्काले भदौ २४ गते खड्काको घरमा आगजनी हुँदा डलर भेटिएको सम्बन्धमा पत्रकार सम्मेलनमा भने, ‘मेरो घरमा कति पैसा थियो, कति विदेशी पैसा थियो भनेर मैले पुलिसमा दर्ज गरेको छु । जहाँसम्म उडाएर फोटो खिचिएको थियो नि त्यो म यही घरमा बसेर हेरिराहा थेँ । मैले दशैँका लागि ल्याएर राखेका पैसा थिए तीन ओटा दशैँ अगाडि । केही पैसा नयाँ नोटहरु २० का ५० का त्यसका एक एक ओटा बन्डल ल्याएर फुर्र उडाएर फोटो खिचिराख्या थियो त्यो प्लानमा थियो । चरित्र हत्या गर्नलाई प्लान गरिया थियो । तपाईंहरुलाई लाग्छ दीपक खड्कासँग २–४ लाख रुपैयाँ नहुन सक्छ भनेर विश्वास गर्न सक्नुहुन्छ ? मेरो ब्याकग्राउन्ड तपाईहरुलाई थाहा छ । मेरो जे व्यवसायीक संरचनाहरु छन् नि मन्त्री हुनु, राजनीति गर्नुभन्दा भन्दा अगाडि तयार भएका संरचना हुन् ।’
उनले भने, ‘२३ गते नै मन्त्रिपरिषद्ले जेन–जी आन्दोलनमा घुसपैठ भयो भनेर यसलाई छानबिन गर्ने बताएको थियो । हाम्रो पुलिसले आफ्ना बच्चाहरु छानीछानी एकै जनाको टाउकोमा आठ नौ वटा गोली हान्दैन भनेर निष्कर्ष निकालेका थियौँ ।’
उनले सरकार परिवर्तन भएपछि सरकारको जिम्मेवारी के त ? भनी प्रश्न गरे ।
अगाडि भने, ‘जेलबाट हजारौँ मान्छेहरु जेलबाट हतियारसहित भागेका छन् । पुलिसका हतियार लुटिएको छ । सुरक्षा दिने निकायका मान्छेहरु कसरी मारिए ? यसको छानबिन हुनुपर्छ ।’
भदौ २४ गतेको कार्यक्रम ठूलो योजनाबाटमात्र सम्भव भएको दाबी गर्दै खड्का भन्छन्, ‘अचम्म लाग्दो कुरा २४ गतेका दिन एकैचोटी देशभरि तीन घण्टाभित्र मुलुक समाप्त पार्ने गरी अभियान चलाइयो । के कारणले सिर्जित भयो होला ? कसरी सम्भव भयो होला ? यसका विषयमा तमाम नागरिकले चासो राख्ने, पत्रकारले खोजीमा काम गर्ने र सरकारमा जो भए पनि कार्यान्वयन गर्ने होला के भाछ मेरो प्रश्न ।’
उनले आफूलाई समाजले हेर्ने नजर फरक बनाइएको भन्दै आफू पनि यही देशको नागरिक भएको र आफ्नो पनि हक अधिकार संविधानले सुनिश्चित गरेको बताए ।
उनले भने, ‘मेरो घर पनि जलेको छ । म एउटा व्यक्ति हुँ । म एउटा नागरिक हुँ । कानूनी राज्य र शासनको मुलुकको म पनि नागरिक हुँ । मेरो पनि अधिकार छ । मलाई पनि जवाफ चाहिन्छ । मैले आफ्नो जिम्मेवारी निभाउँदा कुनै काम भयो होला । तर नागरिकका हैसियतले मैले सरकारसँग प्रश्न राख्न पाउनु पर्छ ।’
उनले चौथो अंगले आफ्ना विषयमा गरेको समाचार सम्प्रेषणप्रति असाध्यै दया लागेको बताएका छन् । मिडियाले गहन अध्ययन गरेर अनुसन्धान गरी समाचार लेख्नुपर्ने पनि जोड दिए ।
आफ्नोबारेमा थप स्पष्ट पार्दै उनले भने, ‘म पदमा हुँदा गरेका निर्णय र पदमा नहुँदा मैले गरेको व्यापार व्यवहारहरू । मैले राजनीति सुरु गरेकै राजनीति खर्चिलो छ । आय आर्जन चाहिन्छ भनेर व्यवसाय गरेर व्यवसायले अब मलाई खान लाउन पुग्छ भनेर शुरु गर्या मान्छे हो । सायद भ्रष्टाचार विरुद्ध अभियानकै रुपमा लिएर जाने मान्छे हो म । तपाईहरुले हेर्नुृभाछ । गरिबी निवारण गर्नुपर्छ भनेर मैले ठूला आयोजनाहरु शुरु गरेँ । गरिबी निवारण गर्नुपर्छ र विपन्नलाई सम्पन्न बनाउनु पर्छ भन्ने कुरा पनि अपराध हो भने म जत्रो पनि सजाय भोग्न तयार छु । संखुवासभामा बजेट लैजानु अपराध हो भने जत्रो सजाय पनि भोग्न तयार छु ।’