तनाव कम गर्न अफगानिस्तान र पाकिस्तानबीच दोहामा वार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
2.1k
Shares
काठमाडौँ । अफगानिस्तान र पाकिस्तानका वरिष्ठ सरकारी अधिकारी आफ्नो साझा सीमामा बढ्दो तनाव कम गर्ने उद्देश्यले कतारको दोहामा वार्ताका लागि पुगेका छन् ।
पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार रक्षामन्त्री ख्वाजा आसिफको नेतृत्वमा पाकिस्तानी प्रतिनिधि मण्डल शनिबार दोहा पुगेको हो । यस्तै, अफगान अधिकारीले पनि रक्षामन्त्री मुल्ला मोहम्मद याकूबको नेतृत्वमा उच्चस्तरीय टोली कतार प्रस्थान गरेको पुष्टि गरेका छन् ।
यो वार्ता पछिल्ला हप्ता-दिनयता अफगानिस्तान-पाकिस्तान सीमाक्षेत्रमा भएका सानातिना सशस्त्र झडपका बीच भइरहेको हो । यी झडपहरूले दुबै देशबीच पुनः तनाव बढ्ने चिन्ता उत्पन्न गरेका छन् ।
यसअघि दुबै पक्षले बुधबारदेखि लागू हुने गरी ४८ घण्टे अस्थायी युद्धविराममा सहमति जनाएका थिए । तर सो युद्धविराम सहमति शुक्रबार सकिएको छ । दोहामा हुने वार्ताको उद्देश्य सो युद्धविरामलाई दीर्घकालीन शान्ति व्यवस्थामा रूपान्तरण गर्ने तयारीको रूपमा हेरिएको छ ।
हालसम्म दुबै पक्षले औपचारिक एजेन्डा सार्वजनिक नगरे पनि कुटनीतिक स्रोतका अनुसार वार्तामा सीमा व्यवस्थापन, सुरक्षा सहयोग र संचार संयन्त्र मजबुत पार्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
विश्लेषकहरूले भनेका छन कि दोहामा हुने यो वार्ता दुबै देशबीचको संवेदनशील सम्बन्धमा स्थायित्व ल्याउने कि पुनः तनाव बढाउने भन्ने निर्णायक मोड बन्न सक्नेछ । एजेन्सी