एसियन हाइवेको कालोपत्र शुरु, हात्तीका लागि 'एनिमल अन्डरपास' समेत बन्दै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
1k
Shares
झापा। एसियन हाइवेको पूर्वीखण्डअन्तर्गत काँकडभिट्टाबाट केरखासम्मको ४५ किलोमिटर सडकमध्ये दुई दशमलव पाँच किलोमिटर सडकमा कालोपत्र शुरु भएको छ। काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले विर्तामोड, मेचीनगर, शिवसताक्षी र कमलका केही स्थानमा सडकको एकातिरको लेनमा पहिलो सतहको कालोपत्र तीव्रगतिमा भइरहेको बताएका छन्। उनले वर्षा सकिएपछि र चाडपर्व सकिएपछि कामको गति अझै बढ्ने विश्वास व्यक्त गर्दै पहिलो सतहको कालोपत्रमाथि माथिल्लो सतहको पाँच सेन्टिमिटरको कालोपत्र थपिने जानकारी दिएका छन्।
एसियाली विकास बैंकको सहयोगमा करिब रु १० अर्बको लगानीमा काँकडभिट्टाबाट केरखाको सीतापुरीसम्मको स्तरोन्नति कार्य जारी छ। निर्माणसम्बन्धी ठेक्का लिएको एभ्रास्कन कालिका जेभीले सडकमा पर्ने १५२ वटा कल्भर्टमध्ये ९२ को निर्माण सम्पन्न गरिसकेको छ।
यातायातको अधिक चाप हुने सहरी क्षेत्रमा ओभरपास निर्माण पनि धमाधम भइरहेको आयोजना प्रमुख पन्तले बताए। मेचीनगरको चारआली चोक र विर्तामोडको चारपानेमा आधुनिक ढाँचाको ओभरपास निर्माण भइरहेको छ, जसमा मानिस र सवारीसाधन आवतजावत गर्ने बेग्लाबेग्लै ठाउँ बनाइनेछ। विशेषगरी मेचीनगरको चारआलीअन्तर्गत जङ्गल क्षेत्रमा हात्तीसहित जङ्गली जनावर ओहोर–दोहोर गर्नका लागि ‘एनिमल अन्डरपास’ पुल निर्माण भइरहेको उनले जानकारी दिए।
पूर्वीखण्डको १८ वटा पुलमध्ये अधिकांशको काम भइरहेको छ। हालसम्म सो सडकखण्डको भौतिक प्रगति २७ प्रतिशत रहेको छ। सरकारले काँकडभिट्टा–लौकही सडकको ९५ दशमलव ७६ किलोमिटर क्षेत्रमा एसियन हाइवेको निर्माण अघि बढाएको छ, जसअन्तर्गत सहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको सडक बन्नेछ ।