काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार ठूलो आगलागी भएपछि सबै उडानहरू अनिश्चितकालका लागि अवरूद्ध भएका छन्।
विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरे पनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएका कारण उडान सेवा अवरुद्ध बनेको हो। फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमले आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिटहरू परिचालन गरिएको र दिउँसो सुरु भएको आगलागी नियन्त्रणमा नआएपछि थप सुरक्षा बललाई समेत परिचालित गरिएको जानकारी दिएका छन्।
द डेली स्टार पत्रिकाले विमानस्थलका अधिकारीहरूलाई उद्धृत गर्दै उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको जनाएको छ। अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रण गरेसँगै विमानस्थल केही घण्टाभित्रै सञ्चालन सुरु हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य निर्देशनालयका एक वरिष्ठ अधिकारी मोइनुल असानले कम्तिमा चार जनालाई सामान्य चोटपटक लागेपछि अस्पताल लगिएको बताएका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन।