लुम्बिनी । नेपाल सम्पदा, सभ्यता र संस्कृतिले भरिएको मुलुक मानिन्छ । हरेक मुलुकको आफ्नै मौलिक संस्कार हुन्छ । सभ्यता, संस्कृति, सम्पदा र इतिहास नै त्यो मुलुकको परिचय र राष्ट्रिय गौरवको विषय पनि हो । विश्वका अति प्राचीन मुलुकमा नेपालको आफ्नै विशेषता छ ।
अन्य मुलुकले आफ्ना सभ्यता जोगाउन कृत्रिम संरचना बनाएर लाखौँ पर्यटक आकर्षित गरिरहेका बेला हामीकहाँ ऐतिहासिक लोक संस्कृति, संरचना कुरुप बन्दै गएका छन् । हामीले हाम्रो सम्पदा, सभ्यता र संस्कृतिको संरक्षण गर्न सकिरहेका छैनौँ ।
तर दाङको तुलसीपुर बजारबाट करीब ११ किलोमिटर पश्चिम दंगीशरण गाउँपालिका-३ चखौरामा दुई तीन वटा भुइँतले घर छन् । हेर्दा सामान्य देखिने थारु सांस्कृतिक संग्रहालयका घरभित्र जाँदा मौलिकता झल्काउने दृश्य निकै मनमोहक देखिन्छन् । त्यहाँ मुलुकको समृद्धिसँग जोड्न सकिने एउटा गतिलो प्रयास गरिएको पाइन्छ ।
संग्रहालयका भित्तामा थारु समुदायको विभिन्न नाचको तस्वीर बनाइएको छ, भने भित्र नाचमा प्रयोग गरिने मादल, झ्याली लगायत वाद्यवादन, थारु समुदायका विभिन्न क्रियाकलाप, खल्यानमा गरिएको कचहरी लगायत प्रतिमाका दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
आजभन्दा करीब हजार वर्षअघि थारु समुदायले प्रयोग गर्दै आएको परम्परागत गरगहनादेखि लुगा राख्ने भौका, खेतीपातीमा प्रयोग हुने माछा मार्ने जाल, हलो, हेल्का, जुवा, ह्याङगा, खटिया, डेल्या, खोङग्या, गोल्द्रा, खटौली, गुन्द्री बुन्दै गरेका दृश्यहरुलाई झल्काएर मौलिक रीतिरिवाजलाई जीवन्त राख्न थालिएको देखिन्छ । थारु जातिको लोप हुँदै गएको सम्पदा, सभ्यता र संस्कृतिलाई संग्रहालय बनाएर पर्यटन क्षेत्रको रुपमा विकास गर्नेगरी करिव पाँच बिगाह क्षेत्रफलमा थारु साँस्कृतिक संरक्षण केन्द्र निर्माण गरिएको छ ।
संग्रहालयमा बिहेका वेला बेहुलीले बेहुलाको घरसम्म पुर्याउने परम्परागत डोली, ड्वाला, चाँदी लगायत माटाले बनाएका विभिन्न मौलिक गरहगहना, पुर्खादेखि लगाउँदै आएको परम्परागत वेशभूषा, खुट्टामा लगाउने काठको चप्पल (पौवा), खाना पकाउन प्रयोग गरिएका माटाका भाँडा, काठका भाँडा, पूजापाठमा प्रयोग गरिने माटाका देवीदेवता पनि रहेका छन् ।
दाङ आउने बाह्य तथा आन्तरिक पर्यटकका लागि संग्रहालय थारु समुदायको मौलिक कला, संस्कृतिको अध्ययन, अनुसन्धान र उनीहरुबारे सहजै जानकारी लिन सक्ने एउटा माध्यम बनेको छ । २०७५ सालमा सञ्चालनमा ल्याइएको संग्रहालयमा हालसम्म आठ करोड लगानी भइसकेको संग्रहालयका बजार व्यवस्थापक नरेन्द्र चौधरीले बताए । संग्रहालय अवलोकन गर्न दैनिक डेढ सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको संग्रहालयले जनाएको छ ।