भ्रष्टाचार र कुप्रशासनमात्र नभई सुधारको अपार सम्भावनासमेत देख्यौँ : प्रधानमन्त्री [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
1.2k
Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशको अवस्था क्रमशः सामान्य बन्दै गएको ब्रिफिङ गरेकी छन् ।
शुक्रबार नेपालस्थित कुटनीतिक प्रतिनिधिलाई देशको अवस्थाबारे सामूहिक रुपमा जानकारी दिँदै कार्कीले देशको स्थिति सहज बन्दै भएको बताएकी हुन् ।
प्रधानमन्त्रीले भनिन्, ‘नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ । यो हाम्रो जनताको अदम्य सहनशीलताको प्रमाण हो । तपाईंहरूले यो सकारात्मक सन्देश विश्व समुदायमा प्रवाह गर्न सहयोग पुर्याउनुभएमा हामी अत्यन्त आभारी हुनेछौँ ।’
उनले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा देशको स्थितिमा सुधार हुँदै गएको र त्यसबारे अन्तर्राष्ट्रिय समुदायसम्म जानकारी पुर्याइदिन आग्रह गरिन् ।
उनले यो सरकार गठन भएको एक महिना नपुग्दै आफूहरूले प्रणालीभित्रको व्यापक भ्रष्टाचार र कुप्रशासनमात्र नभइ सुधारको अपार सम्भावनासमेत देखेको बताइन् ।
उनले भनिन्, ‘यो सरकार गठन भएको एक महिना नपुग्दै, हामीले प्रणालीभित्रको व्यापक भ्रष्टाचार र कुप्रशासन मात्र होइन, सुधारको अपार सम्भावनासमेत देखेका छौँ, यही अवसर हो विश्वास पुनर्निर्माण गर्ने, संस्थागत सुदृढता ल्याउने, र शासन प्रणालीलाई पारदर्शिता र सेवामुखी दिशातर्फ लैजानेछ ।’
विश्वासिलो वातावरणमा चुनाव गराउन सरकार लागि परेको जानकारी कार्कीले कुटनीतिक प्रतिनिधिहरुलाई गराइन् ।
सुरक्षाको अवस्थामा सुधार गरेर चुनावका लागि विश्वासिलो वातावरण बनाउँदै गएको जिकिर उनले गरिन् ।