काठमाडौँ। एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले नियुक्त भएका छन्। उनको यो नियुक्ति आगामी कार्तिक १५ गतेदेखि लागू हुनेछ।
नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक सीईओका रूपमासमेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ) को आफ्नो महत्त्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन्।
दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव बोकेका फोलेले यस क्षेत्रका प्रमुख कम्पनीहरूमा कुशल नेतृत्वका साथ सफलता हासिल गरेका उल्लेखनीय रेकर्डहरू रहेका छन्।
एनसेलमा आबद्ध हुनुअघि, फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सात वटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी वहन गरेका थिए । त्यसअघि उनले टेलिनोर पाकिस्तान (टीपी) का सीईओका रूपमा कार्य गर्दै कठिन व्यावसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउँदै बजारमा अग्रणी वृद्धि, नाफा, र कर्मचारी संलग्नताका साथ उल्लेखनीय सफलता हासिल गरेका थिए ।
उनका अघिल्ला नेतृत्वदायी भूमिकाहरूमा, ग्रामीणफोन (बङ्गलादेश) र टेलिनोर (बुल्गेरिया)मा सिइओ को पदसमेत समावेश छन्, जहाँ उनले उल्लेखनीय व्यावसायिक परिवर्तनको नेतृत्व गर्दै ग्राहक सङ्ख्या ७ करोडभन्दा माथि पुऱ्याएर र ईबिट्डामा ६० प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेका थिए।
फोलेले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान) का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका छन्। हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु अन्तर्गतको वाटु डीआरसी एसएका अध्यक्षका रूपमा कार्यरत छन्।
नियुक्ति सम्बन्धी आफ्नो धारणा व्यक्त गर्दै फोलेले भने, “काठमाडौँमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु। एनसेल, देशका लागि महत्त्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सृजना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ।
आजको डिजिटल, एआई पावर्ड र सामाजिक सञ्जालको युगमा, दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायक मात्र होइनौँ, हामी समाजको डिजिटल संरचना बुन्ने भूमिका निभाइरहेका छौँ। हामी आधुनिक अर्थतन्त्रको सञ्चालन प्रणाली बनिसकेका छौँ । यसैले, राष्ट्रको सेवा गर्न, हाम्रा सेवाहरू सुदृढ बनाउन र सबैभन्दा महत्त्वपूर्ण रूपमा आगामी पुस्तालाई सशक्त बनाउनका लागि यी महत्त्वपूर्ण सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नु अत्यावश्यक छ ।”
एनसेलको सञ्चालक समितिले फोलेको नेतृत्वमा गहिरो विश्वास व्यक्त गर्दै भन्यो, “हामी यस महत्त्वपूर्ण नेतृत्व भूमिकामा फोलेलाई एनसेलमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी छौँ । उनको विस्तृत अनुभव र रणनीतिक दृष्टिकोण, एनसेलको रूपान्तरणलाई मार्गदर्शन गर्न र हाम्रा समुदायहरूलाई निरन्तर सेवा गर्ने प्रतिबद्धतालाई बलियो बनाउन महत्त्वपूर्ण हुनेछन् ।”
फोल म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसीडबाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा एक्सिक्युटिभ सर्टिफिकेटस् प्राप्त गरेका छन्। उनी क्यानडा–केन्या दुवैको नागरिक हुन्।
एनसेलको बारेमा
एनसेल सन् २००४ मा स्थापना भई २००५ बाट सेवा प्रदान गर्दै आइरहेको नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो। प्रत्येक नेपालीलाई आफ्ना सेवाहरूमार्फत जोड्दै कनेक्टिभीका लाभहरू प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले निरन्तर काम गर्दै आइरहेको छ।
स्पेक्ट्रलाइट यूके लिमिटेडका साथ एनसेल आम नेपाली उपभोक्ताहरूलाई नवीनतम र उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको छ, जसले डिजिटल नेपालका आकाङ्क्षाहरू हासिल गर्न योगदान पुऱ्याउने छ । एनसेल आफ्नो दृढ प्रतिबद्धता र क्षमतासहित डिजिटल सेवा, नवप्रवर्तन, लगानी तथा जीवन सहज र समृद्धि बनाउने उद्देश्यसहित सेवाहरूको विविधीकरणतर्फ अग्रसर छ, जसले आम नेपालीहरूको जीवनलाई अझ समृद्ध बनाउनेछ।
डिसेम्बर १, २०२३ मा बेलायतस्थित स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटा ग्रुप बरवादअन्तर्गत रहेको आजियाटा यूकेबाट रेनल्ड्स होल्डिङ्स लिमिटेडको सय प्रतिशत सेयर स्वामित्व लिएको थियो। रेनल्ड्सको एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको छ।
एनसेल नेपालका सबैभन्दा ठूला करदातामध्ये एक हो। आफ्नो स्थापना पश्चात् कम्पनीले हालसम्म विभिन्न कर तथा शुल्कका रूपमा सरकारलाई ३६० अर्ब रुपैयाँभन्दा बढी तिरिसकेको छ। यसै गरी, कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) मा एनसेल फाउन्डेसनमार्फत शिक्षा, वातावरण, स्वास्थ्य, कला र संस्कृतिको संरक्षण जस्ता क्षेत्रहरूमा विविध सामाजिक परियोजनाहरू कार्यान्वयन गर्दै २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ। यी पहलहरूले संयुक्त राष्ट्रसङ्घका दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सरकारी प्रयासलाई सहयोग पुऱ्याईरहेका छन्।