राष्ट्रपति पौडेलद्वारा 'जेन-जी'लाई निर्वाचन सफल पार्न आग्रह, 'राष्ट्रको काँचुली फेर्ने महाअभियान' मा लाग्न आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
1k
Shares
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्नका लागि जेन-जी अभियान्ताहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार अन्तरिम सरकारसहित जेन-जीका प्रतिनिधिहरूसँगको छलफलमा उनले यस्तो आह्वान गरेका हुन्।
राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको मर्म देशलाई भ्रष्टाचार, नातावाद, कृपावाद र पक्षपातपूर्ण व्यवहारबाट मुक्त गराउँदै सही मानिसले देश चलाओस् भन्ने रहेको भन्दै सोही उद्देश्य प्राप्तिका लागि नयाँ चुनाव घोषणा गरिएको स्पष्ट पारे। उनले युवाहरूलाई चुनावलाई सामान्य रूपमा नलिई 'राष्ट्रको काँचुली फेर्ने महाअभियान' का रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्न आग्रह गरे।
राष्ट्रपति पौडेलले संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूको आन्दोलनको सम्मान गर्दै आफ्नो उपस्थितिमा सरकारलाई समेत सहभागी गराएर छलफल गरेको बताए। उनले आन्दोलनकारीहरूका बाँकी मागका बारेमा सरकारले ध्यान दिने स्पष्ट पारे।
छलफलमा सहभागी जेन-जीका प्रतिनिधिहरूले भने युवाहरूको आन्दोलन सामाजिक, आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचार विरुद्ध भएको उल्लेख गर्दै यो आन्दोलन संविधान, लोकतन्त्र, संघीयता र समावेशीता विरुद्ध नरहेको स्पष्ट पारे।
बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबै मन्त्रीहरू सहभागी थिए। जेन-जीका प्रतिनिधिहरूमध्ये मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी लगायत १६ जना सहभागी थिए।