काठमाडौं। पश्चिमी भारतको राजस्थान राज्यमा एक निजी बसमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
राजस्थानको राजधानी जयपुरबाट करिब ५ सय ४८ किलोमिटर पश्चिममा रहेको जैसलमेर जिल्लाको थैयत गाउँ नजिकै सडकमा गुडिरहेको बसमा आगलागी भएको थियो।
अधिकारीहरूका अनुसार, ५७ जना यात्रु बोकेको उक्त बस राजमार्गमा रहेको बेला पछाडिको भागबाट धुवाँ निस्कन थालेको थियो। चालकले बस रोक्नासाथ केही समयमै बस आगोले पूर्णरूपमा जल्यो। दुर्घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
आगलागीको कारण तत्काल खुल्न नसके पनि प्रहरीले गाडीभित्र सर्ट सर्किट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ।