arrow

असन्तुष्ट पक्षलाई लिङ्देनको चुनौती - १३ सय प्रतिनिधिको हस्ताक्षर ल्याए अध्यक्ष पद छाड्न तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
lingdenss.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रबाट विशेष महाधिवेशनको मागसहित २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर आएमा आफू तत्काल अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन्।

बुधबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले पार्टीभित्र असन्तुष्ट रहेका पक्षलाई चुनौती दिएका हुन्।

अध्यक्ष लिङ्देनले राप्रपामा करिब ४६ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको र विधानअनुसार अध्यक्ष हटाउन २५ प्रतिशत (झन्डै १२ सयदेखि १३ सय हाराहारी) प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्ने स्पष्ट पारे।

उनले भने, "मेरो योग्यतामाथि, कार्यक्षमतामाथि प्रश्न उठाएर त्यति साथीहरूको हस्ताक्षर आयो भने महाधिवेशन पनि बोलाइदिन्छु, अध्यक्षको पद पनि कसलाई जिम्मा लगाउनुपर्ने हो लगाईदिन्छु।" तर, केही व्यक्तिलाई मात्र मन नपरेको भरमा भने आफूले पार्टी अध्यक्ष छोड्न नसक्ने उनको भनाइ छ।

स्मरण रहोस्, राप्रपाका महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाहीले अध्यक्ष लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन्। अध्यक्ष लिङ्देनले उहाँहरूलाई नै लक्षित गरी २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जम्मा गर्न चुनौती दिएका हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ