arrow

जिल्ला अस्पतालमा फोहर निर्मूलीकरण मेशिन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
machine-bajura-hospital.jpg

बाजुरा । जिल्ला अस्पताल बाजुरामा फोहर निर्मूलीकरण मेशिन जडान गरिएको छ । अस्पतालले फोहोर वर्गीकरण गरेर व्यवस्थापन शुरू गरेको हो । अस्पतालबाट निस्कने फोहोरबाट उत्पन्न हुने संक्रमणलाई न्यूनीकरण गर्न नयाँ प्रविधिबाट फोहरको व्यवस्थापन शुरू गरिएको हो ।

फोहोरजन्य वस्तु उचित रूपमा विसर्जन नहुँदा सम्भावित जोखिम न्यूनीकरण गर्न फोहर निर्मलीकरण मेशिन जडान गरिएको अस्पतालका प्रमुख डा. चन्द्रशेखर यादवले बताए ।
अस्पतालबाट निस्किने सबै खालको फोहोर मेसिनमा राखेर रोगका किटाणुलाई पूर्ण रूपमा निर्मूलीकरण गरेर विसर्जन गर्न सहयोग पुग्ने उनले बताए । 

उनका अनुसार, औषधिका डब्बा, सिरिन्ज, स्लाइनका बोतल, मेटल, कागज, लगायत अन्य प्रयोग भइसकिएका फोहोरलाई प्रशोधन गर्ने र सहज तरिकाले बिसर्जन गरिने गरी मेशिन जडान गरिएको बताएका छन् । 

अस्पतालजन्य फोहोरलाई एक सय २१ डिग्री सेन्टिग्रेड तापक्रममा आधा घण्टा मेसिनमा राखेपछि यसबाट फोहोरमा भएका सबै किसिमका किटाणु मर्ने र किटाणु मरेपछि संक्रमण नहुने गरेको छ । 

फोहरबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न करिब एक करोड ७० लाखको लागतमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी कैलालीबाट अस्पताल बाजुरामा उक्त मेशिन जडान गरिएको हो । 

मेशिन जडानले अस्पतालको फोहरजन्य वस्तुलाई सहज रुपमा संक्रमण नहुने गरी व्यवस्थापन गर्न सहज हुने छ । प्रशोधित फोहर बडीमालिका नगरपालिकाको टिप्परबाट विसर्जन गरिने भएको हो ।

प्रयोगपश्चात् खेर गएको फोहबाट उत्पन्न हुने संक्रमणलाई निराकरण गर्न बाजुरा अस्पतालसहित डोटी अस्पताल र बयलपाटा अस्पतालमा फोहर निर्मूलीकरण मेशिन जडान गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी कैलालीका बायोमेडिकल ईन्जिनियर आशुतोष भण्डारीले बताए ।

संक्रमित फोहोरलाई मेशिनमा प्रयोग गरी निर्मूलीकरण गरिने जसबाट कुनै संक्रमण नहुने गरेको भण्डारीको भनाइ छ ।

मेशिनबाट अस्पतालका वार्डमा संकलित फोहोरलाई कुनै संक्रमण नहुने गरी व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ