जेन-जी आन्दोलनका क्रममा हुम्लाका लामा काठमाडौँबाट बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
904
Shares
सिमकोट (हुम्ला)। हुम्लाको नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका छन्। उनी काठमाडौँमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा बेपत्ता भएका हुन् र हालसम्म सम्पर्कमा नआएको परिवारजनले बताएका छन्।
चौबीस वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा भतिजासँग बस्दै आएका थिए। नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकेर एक वर्षअगाडिदेखि उनी तीनचुलीमा बस्दै आएका थिए।
थुक्तेनका बुबा टैछिरिङ लामाका अनुसार, भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठामा फर्किएका थिए। तर, भदौ २४ गते कोठाबाट निस्केपछि उनी बेपत्ता भएका हुन्।
बुबा टैछिरिङले बेपत्ता छोराको खोजी गरिदिन सबैमा आग्रह गरेका छन्। बेपत्ता थुक्तेन उनका कान्छा छोरा हुन्। थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई जानकारी गराइएको पनि बुबा टैछिरिङले बताएका छन्।