arrow

अमेरिकी औद्योगिक रणनीतिमा चीनको प्रतिक्रिया: कोरियाली पाँच कम्पनीमाथि प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
china-korea.jpg

काठमाडौँ। चीनले दक्षिण कोरियाली जहाज निर्माण कम्पनी हानवा ओसनका पाँच अमेरिकी सहायक कम्पनी (युनिट) माथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ। चीनको वाणिज्य मन्त्रालयले यो कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकामा औद्योगिक पुनर्निर्माण गर्ने रणनीतिक पहलप्रतिको प्रतिक्रियास्वरूप लिइएको बताएको छ।

वासिङ्टनले विश्व जहाज निर्माण उद्योगमा चीनको बढ्दो प्रभुत्वबारे औपचारिक अनुसन्धान सुरु गरेपछि चीनले यो प्रतिबन्धको घोषणा गरेको हो। चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार, अमेरिकाको उक्त अनुसन्धानले चीनको राष्ट्रिय सुरक्षा र जहाज निर्माण उद्योगलाई खतरा पुर्‍याएको छ। अमेरिकी पक्षले चीनको औद्योगिक नीतिलाई ‘अनुचित प्रतिस्पर्धा’ भनेर चित्रण गर्दै आफ्नो अनुसन्धानमा हानवा ओसनको संलग्नता उल्लेख गरेको थियो।

मन्त्रालयका अनुसार, चिनियाँ कम्पनीहरूले अबदेखि यी पाँच एकाइसँग कुनै पनि प्रकारको लेनदेन गर्न पाउने छैनन्। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सन् २०२४ को अप्रिलमा धारा ३०१ अन्तर्गतको व्यापार अनुसन्धान आरम्भ गरेको थियो, जसले चीनको बढ्दो औद्योगिक प्रभाव अमेरिकी व्यवसायहरूका लागि प्रतिकूल रहेको निष्कर्ष निकालेको थियो।

प्रतिबन्धित कम्पनीहरूमा हनवा शिपिङ एलएलसी, हनवा फिली शिपयार्ड इङ्क, हनवा ओसन युएसए इन्टरनेशनल एलएलसी, हनवा शिपिङ्ग होल्डिङ्ग्स एलएलसी र एचएस युएसए होल्डिङ्ग्स कर्प सामेल छन्।

अन्तर्राष्ट्रिय ढुवानी र जहाज निर्माण उद्योग अहिले वासिङ्टन र बेइजिङबीचको नयाँ व्यापारिक तनावको केन्द्रविन्दु बनेको छ। दुवै देशले मङ्गलबारदेखि एकअर्काका जहाजहरूमा नयाँ बन्दरगाह शुल्क (पोर्ट ट्याक्स) समेत लागू गरेका छन्।

स्मरण रहोस्, सन् २०२४ को अन्त्यमा हानवा ओसनले अमेरिकी राज्य पेन्सिलभेनियामा अवस्थित फिली शिपयार्डलाई खरिद गरेको थियो र गत अगस्टमा अमेरिकाको पहललाई सहयोग गर्न पाँच अर्ब डलरको लगानीमा नयाँ डक्स र क्वे निर्माण गर्ने घोषणा गरेको थियो। चीनले आफ्ना नयाँ बन्दरगाह शुल्क २५ प्रतिशत वा सोभन्दा बढी अमेरिकी स्वामित्व भएका, अमेरिकी झण्डा बोकेका वा संयुक्त राज्य अमेरिकामै निर्मित जहाजहरूमा लागू हुने स्पष्ट गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ