arrow

रोशी खोलामा ह्यूमपाइप हालेपछि यातायात सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
bp-highway-pahiro.jpg

धुलिखेल । असोजको १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण रोशी खोलामा बाढी आएपछि यातायात आवतजावतमा समस्या हुँदै आएको थियो । 

रोशीपारिको क्षेत्र र डाँडापारि महाभारत गाउँपालिकामा बाढीका कारण यातायात बन्दा भएकामा खोलामा ह्यूमपाइप हालेपछि मंगलबारदेखि यातायातका साधन सञ्चालनमा आएका छन् ।

रोशी-७ को थान्सिङबेँसी र नमोबुद्ध नगरपालिका-६ खरिबोट जोड्ने पक्की पुल गत वर्षको असोज दोस्रो साता गएको बाढीले बगाएपछि रोशी खोलामा बाढी आएसँगै डाँडापारि जाने यातायात अवरुद्ध हुँदै आएको थियो ।

विशेषगरी असोजको १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण रोशी खोलामा गएको बाढीका कारण सडक सञ्जाल विच्छेद भएको थियो । 

रोशी खोलाको बहाव कम हुँदै गएपछि विगत तीन दिनदेखि निरन्तर खटेर ह्यूमपाइप हाल्ने र बगर माटोले पुर्ने काम सम्पन्न भएपछि मंगलबार बेलुकादेखि यातायातका साधन सञ्चालनमा आएका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । 

“सडक सञ्जाल जोड्नका लागि रोशी खोलामा तीन दिनदेखि निरन्तरको कामपछि आजदेखि गाडी सञ्चालनमा आएका छन्”, उनले भने, “बाटो खुलाउन रोशी खोलामा १६ वटा ह्यूमपाइप बिछ्याएको छ ।”

पूर्वाधार विकास कार्यालय धुलिखेलबाट यसअघि प्राप्त १० वटा ह्यूमपाइप र रोशी गाउँपालिकाले छ वटा गरी सडक विभाग भक्तपुर र बीपी राजमार्ग सञ्चालनका लागि काम गरिरेहको नवकान्तिपुर निर्माण सेवाका गरी दुईटा उपकरणको सहयोगबाट उक्त काम सम्पन्न भएको अध्यक्ष लामाले बताए ।

यसअघि पनि दशैँमा गाउँ जाने नागरिकको सहजताको लागि खोलामा यातायात सञ्चालन गर्न रोशी र महाभारत गाउँपालिका र नमोबुद्ध नगरपालिकको समन्वयमा असोज ९ गते ह्यूमपाइप हालिएको थियो । 

ह्यूमपाइप हालेको दुई दिनपछि परेको वर्षाका उक्त संरचना बगेपछि असोज १५ गतेदेखि यातायात ठप्प थियो ।

असोज १७ गतेदेखि परेको भारी वर्षाका कारण खोलामा बाढी गएपछि १२ दिनसम्म रोशीपारिको रोशी-१ देखि ७ सम्मका नागरिक र डाँडापारिस्थित महाभारत गाउँपालिकाका नागरिक सडक सञ्जालबाट विच्छेद भएका थिए ।

खोलामा बाढीको बहाव कम हुँदै गएपश्चात् ह्यूमपाइप हालेर बाटो सहज बनाएपछि अब रोशीपारिको क्षेत्र र डाँडापारिको महाभारत गाउँपालिका सडक सञ्जालसँग जोडिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ