गाजा युद्धविरामको पहिलो चरण: इजरायलद्वारा करिब दुई हजार प्यालेस्टिनी बन्दी रिहा
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
2.4k
Shares
काठमाडौँ। इजरायल र हमासबीचको युद्धविराम सम्झौताको एक भागको रूपमा इजरायली कारागार सेवाले सोमबार करिब एक हजार ९६८ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको जनाएको छ।
इजरायली कारागार सेवाको विज्ञप्तिअनुसार, देशभरका विभिन्न जेलबाट ती बन्दीहरूलाई आवश्यक प्रक्रियाका लागि ओफर र क्ट्जियोट जेलमा स्थानान्तरण गरिएको थियो। प्रक्रिया पूरा भएपछि राजनीतिक अधिकारीहरूको स्वीकृतिमा ओफर जेलबाट रिहा गरिएका बन्दीहरूलाई वेस्ट बैङ्क र पूर्वी जेरुसेलम तर्फ पठाइएको छ। क्ट्जियोट जेलबाट रिहा गरिएका बन्दीहरूलाई भने गाजातर्फ प्रवेश गर्ने स्थान केरेम शालोम मा रिहा गरिएको विज्ञप्तिमा उल्लेख छ।
युद्धविराम सम्झौता अनुसार सोमबार नै प्यालेस्टिनी सशस्त्र लडाकू समूह (हमास) लगायतका अन्य समूहद्वारा सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका बाँकी सबै जीवित बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाई गाजाबाट इजरायलतर्फ फिर्ता गरिएको थियो।
सम्झौतामा सबै जीवित र मृत बन्धकहरूलाई सोमबार नै फिर्ता गर्ने भनिए पनि मृतक र वेपत्ता भनिएका २८ जनामध्ये यो समाचार तयार पार्दासम्म चार जनाको मृत शरीर मात्र इजरायलतर्फ पठाइएको छ।