प्रधानमन्त्रीको नाममा चन्दा संकलन गर्नेलाई कानूनी कारबाही गरिने, प्रहरीलाई खबर गर्न आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
909
Shares
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गर्ने वा गर्नलाई प्रोत्साहित गर्ने कुनै पनि गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।
कार्यालयका अनुसार, केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको नाम लिएर विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माका अनुसार प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यका लागि कसैलाई पनि अनुमति दिइएको छैन।
प्रवक्ता शर्माले विज्ञप्तिमार्फत त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न र कसैले यस्तो कार्यका लागि आग्रह गरेमा पूर्ण रुपमा अस्वीकार गर्न अनुरोध गर्नुभएको छ।
यदि कसैले प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला पारेमा, यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रहरीलाई खबर गरिदिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।