arrow

एन्फा विवाद उत्कर्षमा: वरिष्ठ उपाध्यक्षद्वारा अध्यक्षको राजीनामा माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
khadka-anfa.jpg

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्ष पंकजविक्रम नेम्वाङसँग फुटबलप्रति आस्था र चिन्ता नरहेको आरोप लगाउँदै उनको राजीनामा माग गरेका छन्।

नक्सालमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै वरिष्ठ उपाध्यक्ष खड्काले अध्यक्ष नेम्वाङ फुटबलमा सुशासन कायम गर्न असफल भएको र यसको विकासमा काम गर्न असमर्थ रहेकाले राजीनामा दिनुपर्ने बताएका छन्। उनले 'पाँच शुक्रहरू' को एजेन्डासहित निर्वाचित भए पनि वर्तमान नेतृत्वले त्यसअनुरूप काम गर्न नसकेको भनाइ राखे।

वरिष्ठ उपाध्यक्ष खड्काले खेलाडी र समर्थकहरू लिग गर्न मागसहित एन्फामा आए पनि नेतृत्व भागिरहेको आरोप लगाए। उनले आफ्नो जानकारी बिना नै ठूलो रकमको खेल सामग्री खरिद गरिएको बताएका छन्। विश्वकप क्वालिफायरअन्तर्गत नेपाल बहराइनसँग ५–० ले पराजित भएको होम म्याच (बहराइनमा खेलिएको) को टिकट बिक्रीबाट उठेको २० हजार डलर अहिलेसम्म नेपालीलाई प्राप्त नभएको उनको भनाइ छ, जसले एन्फामा सुशासन कायम हुन नसकेको पुष्टि गर्छ।

खड्काले फिफाले नेपालमाथि लगाएको 'कन्ट्रोल फन्डिङ' नहटेको र एन्फाले ठूलो रकम खर्च गर्न फिफाबाट स्वीकृति लिनुपर्ने अवस्था अझै रहेको उल्लेख गरेका छन्। लिगको तयारी गर्नुपर्ने अवस्थामा अध्यक्ष नेम्बाङ विदेश पलायन भएको उल्लेख गर्दै उनले "यदि फुटबलप्रति आस्था र चिन्ता छैन भने राजीनामा दिनुपर्छ" भनी आग्रह गरे।

उनले जसरी पनि शहीद स्मारक ‘ए’ लिग गर्नुपर्ने औंल्याउँदै अध्यक्षले बाटो खुला गरिदिए आफूहरू काम गर्न तयार रहेको दाबी गरे। उनले लिगको तयारीका लागि क्लवलाई आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने र बाधा फुकुवा गर्न नसके अर्ली चुनाव गर्नुपर्ने धारणा पनि राखेका छन्।

यसैगरी, एन्फाका सदस्य रोबिन चन्दले पनि आफू रहेको समितिबाट बजेटबारे छलफल नगरिएको र एन्फाले आन्तरिक स्रोत जुटाउन नसक्दा नै लिग गर्न नखोजिएको आरोप लगाए। उनले आफूलाई बाइपास गरेर एन्फा नेतृत्वले काम गरिरहेको बताए।

उक्त पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्ष विराटजंग शाही र सदस्य रूपेश अधिकारी उपस्थित थिए। उनीहरूले लिग गराउने विषयमा आफूहरू सबै एक हुने धारणा राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ