गाजा शान्ति सम्मेलन आज शार्म एल–शेखमा: प्यालेस्टिनी राष्ट्रपति सहभागी, इजरायल र इरान अनुपस्थित
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
2.5k
Shares
काठमाडौं। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास आज (सोमबार) इजिप्टको रातो सागर किनारस्थित शार्म एल–शेख शहरमा हुने गाजा शान्ति सम्मेलनमा सहभागी हुँदैछन्। अल–अरबियाका अनुसार उक्त सम्मेलनमा इजरायल र हमासबीचको युद्ध अन्त्य गर्ने सम्झौता औपचारिक रूपमा अन्तिम चरणमा पुर्याइनेछ।
इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएअनुसार, २० भन्दा बढी देशका शीर्ष नेताहरूको सहभागिता रहने यस बैठकको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नेछन्। यसअघि शुक्रबारदेखि लागू भएको युद्धविराम सम्झौता इजिप्ट, कतार, टर्की र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा तीन दिनसम्म शार्म एल–शेखमा चलेको वार्तापछि सम्पन्न भएको थियो।
इजरायली प्रधानमन्त्रीको कार्यालयले आफ्ना प्रतिनिधिहरू सम्मेलनमा नपठाउने निर्णय गरेको छ। त्यस्तै, इरानी विदेशमन्त्री सैयद अब्बास आराग्चीले पनि इजिप्टको निमन्त्रणाका लागि धन्यवाद दिँदै इरान उक्त सम्मेलनमा सहभागी नहुने बताएका छन्। उनले इरान कूटनीतिक उपायमार्फत विवाद समाधान गर्न समर्थन गरे पनि इरानी जनतामाथि आक्रमण र प्रतिबन्ध लगाउने देशहरूसँग छलफल गर्न नसक्ने बताए।
इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता गाजामा दुई वर्षभन्दा बढी समयदेखि चलिरहेको विनाशकारी युद्ध अन्त्यतर्फको पहिलो ठूलो कदमको रूपमा हेरिएको छ। योजनाको पहिलो चरणमा गाजा सिटी, राफा, खान युनिस र उत्तर गाजाबाट इजरायली सेनाको फिर्ती, पाँचवटा सहायता नाकाको पुनःखोलाइ, र बन्दी आदान–प्रदान समावेश गरिएको छ।
गाजाको स्वास्थ्य निकायका अनुसार, इजरायली सैन्य कारबाहीका कारण हालसम्म ६७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ र सो क्षेत्रमा भीषण क्षति तथा भोकमरी फैलिएर मानवीय सङ्कट उत्पन्न भएको छ। शार्म एल–शेख सम्मेलनले युद्धपश्चात् पुनर्निर्माण, मानवीय सहायता र दीर्घकालीन राजनीतिक समाधानका लागि रूपरेखा तय गर्ने अपेक्षा गरिएको छ।