तिहार लक्षित बजार अनुगमनमा सक्रियता: सामानमा ‘एमआरपी’ राख्न विभागको पुनः ध्यानाकर्षण
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
747
Shares
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा राख्न सम्बन्धित सबैलाई पुनः ध्यानाकर्षण गराएको छ।
विभागले नियमित बजार अनुगमनका क्रममा विशेषगरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामा/चाँदीका भाँडा, र झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्री लगायतका वस्तुमा एमआरपीसहितको लेबल र मूल्य सूची नराखेको पाइएको जनाएको छ।
बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्न विभाग प्रयासरत रहेको उल्लेख छ। यस कार्यमा व्यापारिक सङ्घ, सङ्गठन र व्यवसायीका साथै उपभोक्तावादी सङ्घ, सङ्गठन र उपभोक्ताको उत्तिकै महत्त्वपूर्ण योगदान रहने विभागको भनाइ छ।
विभागले उपभोक्ता वर्गलाई खरिद गर्ने वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल भएको वा मूल्य सूची राखिएको वस्तु मात्र खरिद गर्न स्मरण गराएको छ। उपभोक्ताहरूको कुनै गुनासो भएमा विभागको टोल फ्रि नम्बर ११३७ मा जानकारी गराउन पनि अनुरोध गरिएको छ।