'जेन-जी आन्दोलन' पछि भागेका पाँच हजार ५४७ कैदीबन्दी अझै फरार
हालसम्म नौ हजार आठ जना कैदीबन्दी भने कारागार फिर्ता, फरारको विवरण विभागको वेबसाइटमा प्रकाशित गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
1k
Shares
काठमाडौँ। गत भदौ २३ र २४ गतेको 'जेन-जी आन्दोलन' को मौका छोपेर देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार रहेका छन्। यद्यपि, हालसम्म नौ हजार आठ जना कैदीबन्दी भने कारागार फिर्ता भइसकेको कारागार व्यवस्थापन विभागले जनाएको छ।
फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अभियानलाई थप प्रभावकारी बनाइने विभागले बताएको छ। आइतबारको गृहमन्त्रीस्तरीय बैठकले यस सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरू गरेको विभागले स्पष्ट पारेको छ।
फरार कैदीबन्दीहरूको नामावलीसहितको विवरण अब गृह मन्त्रालयमार्फत निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभाग लगायत सेवाग्राहीको आवागमन धेरै हुने निकायहरू र ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाइनेछ। साथै, फरार कैदीबन्दीको विवरण विभागको वेबसाइटमा प्रकाशित गरिनेछ।
जिल्लास्थित सार्वजनिक निकायमा विवरण उपलब्ध गराएर कुनै सार्वजनिक सेवा लिन आएको खण्डमा उनीहरूलाई तत्काल पक्राउ गरिनेछ। विभागले फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अब अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको जानकारी दिएको छ।