arrow

बाढी–पहिरोको कृषि क्षति विवरण सङ्कलनमा ढिलाइ: एक हप्ता बित्दा पनि प्रदेशबाट तथ्याङ्क अप्राप्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
landslide-ilam-82-6-19.jpg

काठमाडौँ। असोज १७ देखि २० गतेसम्मको अविरल वर्षा र त्यसपछिको बाढी, पहिरो तथा विपद्ले कृषि क्षेत्रमा व्यापक क्षति पुगे पनि क्षतिको विस्तृत विवरण सङ्कलनमा ढिलाइ भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विवरण सङ्कलनका लागि प्रदेशहरूलाई परिपत्र गरेको एक हप्ता बितिसक्दा पनि हालसम्म विवरण प्राप्त नभएको जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. जानुका पण्डितका अनुसार, मन्त्रालयको बैठकले बालीनाली, पशुपंक्षी, कृषि पूर्वाधार, भवन र कृषियोग्य जमिनको क्षति लगायतका विस्तृत विवरण सातवटै प्रदेशसँग माग गरेको हो। उनले मन्त्रालयले बीमा गरेको र नगरेको क्षतिको विवरण छुट्टाछुट्टै पठाउन निर्देशन दिएको बताए किनभने सङ्घीय स्तरबाट तल्लो तहको बीमा स्थिति छुट्याउन कठिन हुन्छ। यदि बीमा वर्गीकरण नगरिकन विवरण पठाएमा फेरि निर्देशन दिइने उनको भनाइ छ।

प्रवक्ता पण्डितले प्रदेशहरूले आफ्ना कृषि ज्ञान केन्द्रमार्फत विवरण सङ्कलन गर्ने र यसका लागि मन्त्रालयले नै फम्र्याट बनाएर पठाएको बताए। ज्ञान केन्द्रहरूले प्रत्येक पालिकामा कति घरधुरीमा क्षति पुग्यो भन्ने कोणबाट क्षतिको विवरणसहित पठाउँदा मूल्याङ्कन गर्न सजिलो हुने विश्वास उनले व्यक्त गरे। विवरण सङ्कलन गर्दा कोही नछुटोस् र नदोहोरियोस् भन्नेमा सचेत रहन निर्देशन दिइएको उनले जानकारी दिए।

यद्यपि, एक हप्ता बितिसक्दा पनि विवरण प्राप्त नभएकाले अबको केही दिनमा आउने अपेक्षा मन्त्रालयले राखेको छ। कृषि मन्त्रालयले क्षतिको अवस्था अध्ययन गरी प्रतिवेदन बनाउन सहसचिवको संयोजकत्वमा संयन्त्र गठन गरेको छ, जसले प्राप्त विवरणको विश्लेषण गरी राहत सहयोगको सुझावसहित सरकारलाई प्रतिवेदन दिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ