पाकिस्तानी हवाई उल्लङ्घनपछि अफगान सेनाद्वारा प्रतिकारात्मक कारबाही
एजेन्सी,
प्रकाशित २०८२ असोज २५ शनिबार
1.7k
Shares
काबुल। अफगानिस्तानको इस्लामिक इमिरेटका सशस्त्र बलले शनिवार राति पाकिस्तानले बारम्बार गरेको हवाई उल्लङ्घन र हालै अफगान भूमिमा गरेको हवाई आक्रमणको प्रतिकार स्वरूप दुरान्ड रेखा नजिकका पाकिस्तानी सैन्य चौकीहरूमा प्रतिकारात्मक हमला गरेको अफगान रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ।
मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्विटर) मा सार्वजनिक गरेको सन्देशमा भनिएको छ, “आज राति हाम्रो सशस्त्र बलले पाकिस्तानका सेनाले अफगानिस्तानको सार्वभौमसत्तामाथि गरेका बारम्बार उल्लङ्घन र अफगान भूमिमा भएका हवाई आक्रमणको प्रतिकार स्वरूप दुरान्ड रेखा नजिकका पाकिस्तानी चौकीहरूमा सफल सैन्य कारबाही गरेको छ। सो कारबाही मध्यराततिर सम्पन्न भएको हो।”
मन्त्रालयले चेतावनी दिँदै भनेको छ — “यदि पाकिस्तानले पुनः अफगानिस्तानको सीमामाथि उल्लङ्घन गर्ने हो भने, हाम्रो सशस्त्र बल देशको सीमाको रक्षाका लागि सधैँ तयार छ र निर्णायक जवाफ दिनेछ।”
यसअघि रक्षा मन्त्रालयले काबुल र पक्टिका प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणलाई “दुवै देशको इतिहासमै अभूतपूर्व र हिंस्रक कार्य” भनेर निन्दा गरेको थियो। मन्त्रालयले यस्तो कार्यले “पाकिस्तानी सेनाका लागि गम्भीर परिणाम निम्त्याउन सक्ने” चेतावनी दिएको थियो।
रक्षा मन्त्रालयद्वारा जारी अर्को विज्ञप्ति
“पाकिस्तानले पुनः अफगान हवाई सीमाको उल्लङ्घन गर्दै दुरान्ड रेखा नजिक पक्टिका प्रान्तको बरमल जिल्लास्थित मरघी बजार क्षेत्रमा बमबारी गरेको छ र राजधानी काबुलको हवाई सीमामासमेत प्रवेश गरेको छ।”
मन्त्रालयले यी आक्रमणलाई “अभूतपूर्व, हिंस्रक र निन्दनीय” ठहर गर्दै अफगानिस्तानको सार्वभौमसत्ताको रक्षा गर्नु “देशको वैधानिक अधिकार” भएको जनाएको छ।
इस्लामिक इमिरेटका प्रवक्ता जबीहुल्लाह मुजाहिदले बिहीबार राति काबुलमा विस्फोटको आवाज सुनिएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको र अहिलेसम्म कुनै मृत्यु वा क्षतिको विवरण प्राप्त नभएको बताएका छन्। उनले आइतबार बिहान सरकारी सञ्चार केन्द्रमा पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी दिने घोषणा पनि गरेका छन्।
तालिबान अधिकारीहरूका अनुसार पाकिस्तानले यसअघि काबुलमा गरेको हवाई आक्रमणको आरोपपछि अफगान सीमाका पूर्वी क्षेत्रमा दुवै पक्षबीच भीषण गोलीबारी भएको हो। “पाकिस्तानी सेनाद्वारा भएका हवाई आक्रमणको प्रतिकार स्वरूप अफगान सीमा सुरक्षा बलहरू पूर्वी सिमानाका विभिन्न चौकीहरूमा तीव्र भिडन्तमा संलग्न भएका छन्,” अफगान सेनाले जारी गरेको वक्तव्यमा भनिएको छ।
अफगान शान्तिका लागि पूर्व अमेरिकी दूत जल्मे खलिलजादले पाकिस्तानले काबुलमा गरेको हवाई आक्रमणले क्षेत्रीय द्वन्द्व भड्किन सक्ने चेतावनी दिएका छन्। उनले यो आक्रमणलाई असफल कार्य भन्दै कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न दुवै देशलाई आह्वान गरेका छन्।
“पाकिस्तानको काबुलमाथिको आक्रमण असफल देखिन्छ,” खलिलजादले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्।
“लक्षित व्यक्ति सम्भवतः काबुलमा नै थिएनन्। अब पाकिस्तान के गर्छ? फेरि आक्रमण? पाकिस्तानी विमानहरू काबुलमाथि तीव्र गतिमा उडिरहेका छन्, र अफगान पक्ष पनि जवाफका लागि तयारीमा छ। केही नेताहरू तत्काल प्रतिकारको माग गरिरहेका छन्। द्वन्द्व र अस्थिरता बढ्ने सम्भावना उच्च बन्दै गइरहेको छ।”
यसैबीच, कतार सरकारले पाकिस्तान–अफगानिस्तान सीमामा बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै क्षेत्रीय सुरक्षामाथि यसको असर पर्न सक्ने चेतावनी दिएको छ।