arrow

चिसो बढ्यो: सकियो हुम्ला हुँदै मानसरोवर कैलाश यात्रा, छ हजार बढी भारतीय तीर्थयात्री भित्रिए यस वर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
mansarobar-hilsa-darsan.jpg

हुम्ला। चिसो बढ्दै जाँदा यस वर्षको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यात्रा सकिएको छ। होटल व्यवसायी मिम लामाका अनुसार काठमाडौँ र नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका याम समाप्त भएको हो। कोरोना सङ्क्रमणपछि ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्रीहरू हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेका थिए।

होटल व्यवसायी लामाले सदरमुकाम सिमकोट र हिल्साका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको र एउटा होटलले रु १० लाखभन्दा बढी कमाई गरेको जानकारी दिए। अन्य देशका फाट्टफुट्ट पर्यटकको आगमन भए पनि भारतीय तीर्थयात्रीको सिजन भने सकिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार चीनसँगको नेपालको हुम्ला हिल्सानाका गत वैशाख १८ गते खुलेपछि कुल छ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला भित्रिएका थिए। जेठदेखि असोजको पहिलो हप्तासम्म करिब छ हजार (५,९५७ जना) भारतीय तीर्थयात्री मानसरोवर कैलाश दर्शन गर्न पुगेका थिए भने अन्य देशका चार सय ५० जना पर्यटकले हुम्लाको भ्रमण गरेका थिए।

मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो दूरीमा पर्ने भएकाले जेठदेखि असोजको पहिलो सातासम्म दैनिक सिमकोट विमानस्थलमा विदेशी तीर्थयात्रीको बाक्लो चाप बढ्ने गरेको थियो। सिमकोट गाउँपालिकाबाट खटिनुभएका दीपेन्द्र भण्डारीले कोरोना सङ्क्रमणपछिको यो आगमनलाई उल्लेखनीय सङ्ख्या बताए।

जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले भारतीय तीर्थयात्रीबाट प्रतिव्यक्ति रु १,१०० र अन्य देशका पर्यटकबाट रु १,५०० राजस्व शुल्क सङ्कलन गर्दै आएका छन्। यस वर्ष पाँच हजार ९५७ जना भारतीयबाट रु ६५ लाख ५२ हजार र अन्य देशका पर्यटकबाट रु छ लाख ७५ हजार राजस्व सङ्कलन भएको छ।

पर्यटकको आगमन सकिएसँगै जेठ, असार, साउन र भदौमा निकै व्यस्त रहेको सिमकोट विमानस्थल असोजको दोस्रो हप्तादेखि सुनसान देखिएको छ। मानसरोवर कैलाश दर्शन यात्रा सकिएपछि निजी जहाजहरू अन्यत्र उडान भर्दा विमानस्थलमा चहलपहल कम भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ