arrow

मेची राजमार्गको राजदुवाली खण्ड अझै अवरुद्ध, इलामका पाँच पालिका सडक सञ्जालबाट विच्छेद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
mechi-highway-pahiro-rajduwali.jpg

इलाम। गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। ठूलो पहिरो खसेका कारण यस खण्डमा आवतजावत पूर्ण रूपमा रोकिएको छ।

सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि सफल हुन सकेका छैनन्। सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईका अनुसार सिङ्गो डाँडा नै भासिएकाले पहिरो पन्छाउन तीनवटा एस्काभेटर प्रयोग गर्दा पनि समस्या भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सुरक्षित रूपमा आवागमन गर्न सकिनेगरी मर्मत नहुँदासम्म सडक सञ्चालनमा रोक लगाइएको बताएका छन्।

राजमार्गको मिलगोलाई खण्डको अवरोध हटाइए पनि राजदुवाली पहिरोका कारण इलामसहित पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित भएका छन्। झापाबाट आउने सवारीसाधन माईखोलामा र इलाम, पाँचथर, ताप्लेजुङबाट झापा जाने सवारीसाधन राजदुवाली पहिरोमाथि रोकिएका छन्। यस ठाउँमा यात्रुहरूले करिब डेढ किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता छ, जहाँ बिरामी र ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मीले स्ट्रेचरमा बोकेर सहयोग गरिरहेका छन्।

वैकल्पिक सडकका रूपमा प्रयोग हुने मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गतका बेलीब्रिजहरू बाढीले बगाएपछि इलामबाट झापा झर्ने कुनै सडक खुलेको छैन। बाढीपहिरोका कारण जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तह (सूर्योदय, माई, माङसेबुङ, माईजोगमाई र फाकफोकथुम) हालसम्म सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार, इलाममा बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ, २६ जना घाइते भएका र एक जना बेपत्ता छन्। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले २७६ परिवार विस्थापित भएको र १९ पक्की पुल, दुई बेलीब्रिज, ११ कल्भर्टसहित ३१ सडकमा ठूलो क्षति पुगेको जानकारी दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ