महोत्तरी । महोत्तरीको रातो नदीले तटबन्ध भत्काउँदा माछापालक किसानका करोडौँ मूल्य बराबरको माछा बगाएको छ ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका आठ सय हेक्टर पोखरीमध्ये चार हेक्टर पोखरीमा बाढीको पानी पसेर अनुमानित रु १० करोड बढी मूल्य बराबरको माछा बगाएको माछापालकको दाबी छ ।
गत आइतबार र सोमबारको बाढीले सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, बलवा, लोहारपट्टी, मनरासिश्वा नगरपालिका र एकडारा, महोत्तरी, पिपरा गाउँपालिकाको करिब दुई सयवटा पोखरीको करिब ३५ हजार क्वीन्टल माछा बगाएको माछापालक मनरासिश्वा-५ का रामसुदिश शरणले जानकारी दिए ।
सो तटबन्ध भत्किँदा रामविशेष शरण, सुशिलसहनी, भरत सहनी, जामुनमुखिया, सुनिल साह, शङ्कर साह, रञ्जीत शरण, फूलकुमारीदेवी, मरमानन्द मुखिया, ईनरजीत मुखियालगायतका दर्जनौँ पोखरी डुबेको तथा करोडौँ मूल्य बराबरको माछा बगाएको जलेश्वर नगरपालिका-१ का माछापालक शङ्कर साहले बताए ।
बैङ्कबाट कर्जा लिएर पालन गरेको माछा बाढीले बगाएपछि पीडितहरुले सरकारसँग अनुदान तथा क्षतिपूर्तिको माग गरेका छन् ।