काठमाडौँ । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गतको खेलमा नेपालले भियतनामसँग हार बेहोरेको छ । भियतनामको हो चिमिन सहरको गो डाउ रङ्गशालामा बिहीबार राति सम्पन्न भएको खेलमा नेपाल ३-१ ले पराजित भएको हो ।
मध्यान्तरसम्म १–१ को बराबरी खेलेको नेपालले मध्यान्तरपछि दुई गोल खाएको थियो । खेलमा पहिलो अग्रता भियतनामले लियो । खेलको नवौँ मिनेटमा फरवार्ड एनग्युएन टिन लिनले गोल गर्दै घरेलु टोलीलाई पहिलो अग्रतामा दिलाएका हुन् ।
त्यस्तै, खेलको १७ औँ मिनेटमा नेपालका रोहन कार्कीको फ्रिकिकमा सनिस श्रेष्ठले हेडरमार्फत बललाई जाली चुमाए ।
खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भयो । भियतनामको गोल अवसरमा बाधा पुर्याएको भन्दै नेपालका लाकेन लिम्बूले सोझै रातो कार्ड पाएसँगै नेपाल १० खेलाडीमा सीमित बनेको थियो ।
त्यसपछि कमजोर बनेको नेपालले ६७ औँ र ७२ औँ मिनेटमा गोल खायो ।
योसँगै नेपाल लगातार तेस्रो खेलमा पराजित हुँदै अंकविहीन छ ।
नेपालले यसअघि मलेसियासँग २–० र लाओससँग २–१ को हार बेहोरेको थियो।
मलेसिया ९ अंकसहित समूह एफको शीर्ष स्थानमा छ। भियतनाम ३ खेलबाट दुई जितसहित ६ अंक जोड्दै दोस्रो स्थानमा छ।