काठमाडौँ । इजिप्ट विश्वकप फुटबलमा छानिन सफल भएको छ । मोहम्मद सलाह चम्किएसँगै इजिप्ट फेरि विश्वकपमा छानिएको हो ।
यसअघि इजिप्टलाई २८ वर्षपछि सलाहले नै सन् २०१८ को विश्वकपमा पुर्याएका थिए । तर सन् २०२२ को विश्कपमा भने इजिप्ट विश्वकपमा पुग्न सकेन ।
सलाहले चौथो पटक इजिप्टलाई विश्वकप फुटबलमा पुर्याउन सफल भएका हुन् । यसअघि सन् १९३४ मा विश्वकप खेलेको इजिप्टले दोस्रो पटक सन् १९९० को विश्वकप खेलेको थियो ।
नयाँ शताब्दीमा सलाह युग आएसँगै उनले टिमलाई विश्वकपमा दुई पटक पुर्याएका छन् ।
इङ्गलिश प्रिमियर क्लब लिभरपुलका स्टार फरवार्ड सलाहकै कारण बुधबार भएको विश्वकप छनोटको नवौँ खेलमा जिबुटीलाई ३–० ले पराजित गर्दै इजिप्टले सन् २०२६ को विश्वकपको टिकट पक्का गरेको हो ।
मोरक्कोको कासाब्लाङ्कामा भएको खेलमा सलाहले दुई गोल गरे । एक गोल इब्राहिम आदेलले थपे ।
सलाहले यस पटकको अफ्रिकी छनोटमा ९ गोल गरिसकेका छन् । उनी तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । कतारका अल्मोइज अली १२ गोलसहित शीर्ष स्थानमा छन्।
‘ए’ समूहको विजेता बनेर इजिप्टले विश्वकपमा स्थान सुनिश्चित गरेको हो। एक खेल बाँकी रहँदा नै इजिप्टको २३ अंक छ । दोस्रो स्थानमा रहेको बुर्किना फासो १८ अंक छ ।
इजिप्टको अन्तिम खेल गिनी–बिसाउविरुद्ध हुनेछ। घरेलु मैदानमा हुने यो खेलसँगै सलाहले विश्वकपमा छनोट भएको खुसी आफ्नै दर्शकसामु बाँड्ने छन्। खेल अक्टोबर १२ तारिखमा हुनेछ ।
इजिप्टभन्दा अघि अफ्रिकी क्षेत्रबाट मोरक्को ‘ई’ समूह विजेता र ट्युनिसिया ‘एच’ समूह विजेता भएर विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
बाँकी समूहमा सेनेगल, बेनिन, केप भर्डे, आइभरी कोस्ट, अल्जेरिया र घाना अन्तिम चरणको प्रतिस्पर्धामा रहेका छन् ।