arrow

रोशी खोलाको बाढीले बीपी राजमार्ग ध्वस्त: यात्रुहरू भिरपाखाबाट हिँड्न बाध्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
rosi-khola-yatru.jpg

काभ्रेपलाञ्चोक । गत असोज १८ र १९ गतेको वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्गलाई तहसनहस पारेपछि काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा पैदल यात्रासमेत कष्टकर बनेको छ। बाढीपहिरोले सडक बगाएपछि यातायातका साधन रोकिएका छन् र तीन दिनदेखि यात्रुहरू खोलाको तिर, खोलैखोला र भिरपाखाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

वर्षाका कारण राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्ड विभिन्न स्थानमा क्षतिग्रस्त भई पूर्ण रूपमा अवरुद्ध भएको छ। राजमार्गको धुलिखेलदेखि चौकीडाँडासम्म मात्रै सवारी साधन चलेका छन्। चौकीडाँडा आइपुग्नै यात्रुहरूले निकै कठिनाइ भोगेका छन्। भिमखोरीका राजेन्द्र श्रेष्ठका अनुसार, सडकको नामोनिशान नभएको स्थानमा भिर चढेर पार गर्नुपरेको छ। महिला, बुढापाका र बालबालिकालाई निकै अप्ठेरो भइरहेको उनले बताए।

लामो दूरीका यात्रुले वैकल्पिक मार्ग प्रयोग गरे पनि काभ्रेपलाञ्चोक तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीका स्थानीय तहका यात्रुलाई भने चौकीडाँडासम्मै पैदल हिँड्नुपर्ने बाध्यता छ। प्रहरीका अनुसार तीन दिनमा करिब दुई हजार यात्रु यहाँबाट पैदल हिँडेका छन्। सुरक्षाकर्मीले बिरामीहरूलाई स्ट्रेचरमा राखेर चौकीडाँडासम्म ल्याउने गरेका छन्। जिल्ला ट्राफिक कार्यालयका अनुसार राजमार्गको २० किलोमिटर बाटो पूर्ण रूपमा बन्द छ र बाढीपहिरोले १७ स्थानमा क्षति पुर्‍याएको छ।

बाढीले राजमार्गको धेरै भाग बगाएपछि डिभिजन सडक कार्यालय भक्तपुरले रोशी खोलाको बहाव कम हुँदै गएपछि मंगलबारदेखि अस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरेको छ। कार्यालयले रोशी र नमोबुद्धको समन्वयमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन निर्माण थालेको हो। यसअघि गत वर्ष असोजको बाढीपहिरोले क्षतिग्रस्त सोही क्षेत्रमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी सञ्चालन गरिएको थियो, जुन शनिबार र आइतबारको बाढीले पुनः बगाएको हो।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी इञ्जिनियर विन्दु अधिकारीका अनुसार खोलाको किनारैकिनार सडक लैजानुपर्ने र सडकको कुनै अवशेष नरहेकाले खोलाको बहावभन्दा थप उचाइमा डाइभर्सन पुनर्निर्माण गर्नुपर्ने बाध्यता छ। सिन्धुलीतर्फबाट पनि आज (बुधबार) देखि नेपालथोकमा दुई वटा स्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताएका छन्। कार्यालयले क्षतिग्रस्त राजमार्गको स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रिया समेत अघि बढाइरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ