arrow

काठमाडौँमा सानो छिटो: इलाममा महावर्षा ! मौसम विभागको प्रक्षेपण किन चुक्यो ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
madan-sigdel-tu.jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले गरेको भारी वर्षाको पूर्वानुमान काठमाडौँ र इलाममा फरक पर्नुको मुख्य कारण मौसमी प्रणालीको अनपेक्षित र द्रुत चाल रहेको जलवायु विज्ञहरूले बताएका छन्। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं जलवायु विज्ञ डा. मदन सिग्देलले यसका प्रमुख कारणहरू स्पष्ट पारेका छन्।

वर्षा गराउने मौसमी प्रणाली (साइक्लोनिक सर्कुलेसन) अनुमान गरिएको समयभन्दा छिट्टो मध्य नेपालबाट पूर्वी नेपाल (इलाम) तर्फ सरेको थियो। यसरी प्रणाली छिटो सर्नुले पूर्वानुमानमा करिब तीनदेखि चार घण्टाको फरक पर्न गयो। मौसमी प्रणाली अनुमान गरिएभन्दा चाँडै पूर्वतर्फ लागेकाले काठमाडौँसहित मध्य क्षेत्रमा प्रक्षेपण गरिएभन्दा कम वर्षा भयो। यसको विपरीत, प्रणाली चाँडै पूर्व प्रवेश गरेकाले इलामको हिमाली गाउँ लगायतका क्षेत्रमा प्रक्षेपण गरिएको भन्दा बढी र तीव्र वर्षा भई ठूलो मानवीय क्षति निम्त्यायो।

वर्षा गराउने प्रणालीलाई अगाडि धकेल्ने मुख्य कारण वायुमण्डलको तल्लो तहमा भएको परिवर्तन थियो। जमिनदेखि करिब डेढ किलोमिटर माथिको हावाको तहमा सुख्खा र चिसो हावाको प्रभाव परेको थियो। यसले तातो ओसिलो हावासँग ठोक्किएर मौसमी प्रणालीलाई अपेक्षाभन्दा चाँडै पूर्वतिर धकेल्यो। साथै, तल्लो तहमा प्रणालीलाई आवश्यक पर्ने ओसिलोपना मध्यम मात्र भएको कारणले पनि मौसमी प्रणाली लामो समयसम्म मध्य नेपालमा स्थिर रहन सकेन र छिटो पूर्व सरेको थियो।

भारतको उडिसा क्षेत्रमा विकसित भएको प्रणाली नेपाल आइपुग्दा ‘डिप्रेशन सिस्टम’ मा विकसित भएको थियो। यस्तो प्रणाली अस्थिर हुने भएकाले यसको निरन्तर र वास्तविक समयको अनुगमन आवश्यक पर्छ। प्रणालीमा आएको यो अनपेक्षित परिवर्तनको सूचना मध्यराति मात्र आएको कारणले पनि समयमै सूचना सम्प्रेषण हुन नसकेको विज्ञहरूको टिप्पणी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ