arrow

गर्मीका कारण करिब एक लाख मृत्यु जलवायु परिवर्तनसँग सम्बन्धित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
hot-day-children-2024.jpg

काठमाडौँ। अष्ट्रेलियाको नेतृत्वमा गरिएको एक विश्वव्यापी अध्ययनले सन् २०२३ मा आएको अभूतपूर्व गर्मीको लहरका कारण भएको करिब एक लाख मानिसको मृत्यु मानव–प्रेरित जलवायु परिवर्तनसँग प्रत्यक्ष सम्बन्धित रहेको निष्कर्ष निकालेको छ।

मङ्गलबार सार्वजनिक गरिएको उक्त अध्ययनअनुसार, सन् २०२३ मा विश्वभर तातो लहरका कारण अनुमानित १ लाख ७८ हजार ४८६ जनाको अतिरिक्त मृत्यु भएको थियो। यो प्रति १० लाख जनसङ्ख्यामा २३ मृत्यु बराबर हो। अनुसन्धानकर्ताहरूको एक अन्तर्राष्ट्रिय टोलीले ६७ देश र क्षेत्रका २,०१३ स्थानबाट सङ्कलित तथ्याङ्कहरूको विश्लेषण गर्दा तीमध्ये आधाभन्दा बढी, अर्थात् करिब ९७ हजार मृत्यु, मानव–निर्मित जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भएको पाइयो। यसले तातो लहरसँग सम्बन्धित कुल मृत्युको ५४ प्रतिशत हिस्सा ओगटेको देखाउँछ। अध्ययनले सन् २०२३ लाई औद्योगिक युगअघि भन्दा १.४५ डिग्री सेल्सियस बढी तापक्रम भएको इतिहासकै सबैभन्दा तातो वर्षको रूपमा समेत चिन्हित गरेको छ।

तातो लहरका कारण भएका अधिकांश मृत्युहरू उत्तरी गोलार्धका उपोष्णकटिबन्धीय र समशीतोष्ण क्षेत्रमा केन्द्रित थिए। ती क्षेत्रहरूमा लामो समयसम्मको चरम तापक्रमले हृदय, श्वासप्रश्वास तथा अन्य दीर्घकालीन स्वास्थ्य समस्याहरू तीव्र बनाएको अध्ययनले उल्लेख गरेको छ। अष्ट्रेलियाको मोनास विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार दक्षिणी युरोपमा प्रति १० लाख जनसङ्ख्यामा १२० जनाको तातो लहर मृत्यु दर रेकर्ड गरिएको थियो, जसपछि पूर्वी र पश्चिमी युरोप क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका थिए।

अध्ययनको निष्कर्षले बढ्दो ग्लोबल वार्मिङको सन्दर्भमा भविष्यमा मृत्यु दर घटाउन तत्काल प्रभावकारी सार्वजनिक स्वास्थ्य हस्तक्षेप र जलवायु शमन रणनीतिहरू आवश्यक भएकोमा जोड दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ